२०८३ वैशाख १४ , सोमबार 27, April 2026, Monday

भासिएको आठ वर्षसम्म पनि पुनःनिर्माण भएन जब्दीघाट पुल (तस्वीर कथासहित)

सत्यपाटीसत्यपाटी । बर्दिया । २०८२ कात्तिक २२ गते शनिबार

सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीको जब्दीघाट पुल भत्किएको वर्षौँ बितिसक्यो । २०७४ साउन २८ गते भासिएको सो पुल २०७८ असोजमा आएको बाढीले बीच भागको स्पान बगाएकोमा हालसम्म पुनःनिमाण हुन सकेको छैन । भत्किएको पुल कहिले निर्माण हुने हो निश्चित छैन । पप्पु कन्ट्रक्सनले डिजाइन अनुसार पुल निर्माण नगर्दा सो पुल भासिएको हो ।

सडक विभाग अन्तरगत पुल निर्माण शाखाको प्राविधिक अध्ययन अनुसार सो पुल निर्माणमा निर्माण कम्पनीको गम्भीर लापरबाही देखिएको छ । पुलचोक इन्जिनियरिङ क्याम्पस अन्तरगत इन्स्टिच्युट अफ इन्जिनियरिङ कन्सल्टेन्सी सर्भिसेजको प्रतिवेदन अनुसार जमिनमुनि १६ मिटरसम्म पाइल राख्नुपर्नेमा पाँच मिटरसम्म मात्र राखिएको भेटिएको प्रतिवेदन उल्लेख गरिएको छ । जसका कारण पुलको भार वाहन क्षमता निकै कमजोर देखिएको हो ।

हस्तान्तरण नहुँदै पुलको पूर्वी भाग भत्किएको थियो । यो पुल भासिएपछि बर्दिया सदरमुकाम गुलरिया आउजाउ गर्ने मोटर बाटो बन्द भएका छन् । पप्पु कन्ट्रक्सनलले १६ करोड ६८ लाख ४ हजार रुपैयाँ लगानीमा निर्माण भएको पुल उद्घाटन नहुँदै भासिएपछि बबई नदी वारपार गर्न यहाँका नागरिकलाई डुंगाको सहारा लिन परेको छ । पप्पु कन्ट्रक्सनलले ०६८ असार २५ बाट पुल निर्माणको काम सुरु गरेको थियो ।

तोकिएभन्दा डेढ वर्ष ढिलो निर्माण भएको पुलको लम्बाई ४३५ मिटर रहेको छ । निर्माणपछि पुल हस्तान्तरण नहुँदै भासिएपछि सडक डिभिजन कार्यालय नेपालगन्जले २०७९ मंसिरमा पप्पुसँगको ठेक्का सम्झौता तोडेको छ । हाल जब्दीघाटमा स्टिमर सञ्चालनमा रहेको छ । स्टिमरमार्फत नदी पार गरेबापत एक जनाले १० रुपैयाँ शुल्क बुझाउनुपर्छ । साइकलको १० र मोटरसाइकलको १५ रुपैयाँ बुझाउन बाध्य छन् ।

तस्वीरहरु : प्रकाशचन्द्र तिमिल्सेना । नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २०८२ कात्तिक २२ गते शनिबार