२०८३ असोज २० , मंगलबार 6, October 2026, Tuesday

१४ महिनादेखि भेरी अस्पतालको ‘सिटी स्क्यान’ सेवा प्रभावित

भेरी अस्पताल पश्चिम नेपालको धेरै बिरामी आउने अस्पताल हो । यहाँ धेरै जसो निम्न आयस्तर र मध्यम वर्गीय नागरिकहरु आउने गरेका छन् । तर ‘सिटी स्क्यान’ सेवाका लागि बिरामी अन्यत्र जानु परिरहेको छ । भेरी अस्पतालमा धेरैजसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट सिफारिस भएका बिरामी आउने गर्दछन् ।

मेसिन सञ्चालनका लागि प्रयास गरिरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.निराजन सुवेदीले जानकारी दिए । मेसिन बिग्रिँदा बिरामीले सास्ती खेप्नुपरेको भनेर सङ्घीय सरकारलाई लगातार भेट्ने र मेसिन सञ्चालनका लागि आग्रह गरिरहेको सुवेदीले बताए । १४ महिनाअघि बिग्रिएको सिटी स्क्यान मेसिनले १३ वर्षदेखि सेवा दिँदै आइरहेको थियो ।

तर वर्ष दिनदेखि सो सेवा पनि बन्द छ । यसको मर्मतमा करोडौं रुपैयाँ खर्च हुने र चल्ने नचल्ने कुनै सुनिश्चित नहुने भएकाले मर्मत गर्नुको औचित्य नरहेको डा.सुवेदीले बताए । ‘मर्मतका लागि हामीले कम्पनीसँग कुरा गर्यो, मर्मत गर्न मात्र एक करोड ३० लाख खर्च लाग्छ,’ उनले भने, ‘तर यति रकम खर्च गर्दा पनि मेसिन कतिदिन चल्ने भन्ने कम्पनीले ग्यारेन्टी छैन भनेको छ ।’

मेसिन पुरानो भएकाले अहिलेका ‘सिटी स्क्यान’ मेसिनले गर्नसक्ने काम यो मेसिनले नगर्ने डा.सुवेदीले जानकारी दिए । पहिला पनि ‘सिटी स्क्यान’ गर्नुपर्ने सबै कुराको ‘सिटी स्क्यान’ हुन सकेको थिएन । यहाँ गरिने ‘सिटी स्क्यान’ बाहेक अन्यको लागि बाहिर जाने गरेका थिए । अघिल्लो वर्षको साउन १३ गतेदेखि मेसिन बन्द छ ।

‘यसका लागि हामी धेरै पटक मन्त्रालय पुग्यौं, त्यस क्रममा पछिल्लो समय तत्कालीन स्वास्थ्य मन्त्री प्रदिप पौडेलले यो समस्या व्यवस्थापन गर्ने प्रतिक्रिया दिनुभएको थियो,’ डा.सुवेदीले भने । उनका अनुसार सोही बेला मर्मतका लागि बजेट पनि आएको थियो । मर्मतका लागि कम्पनीसँग कुरा गर्ने र प्रक्रिया तथा दीर्घकालीन सम्भावना नदेखिएपछि मर्मत हुन सकेन ।

सरकारले टिचिङ्ग, पाटन लगायतका अस्पतालमा यो मेसिन खरिद गर्दा उपत्यका बाहिर पहिलो पटक नेपालगन्जमा मात्र पठाएको थियो । टिचिङ्ग, पाटन अस्पतालहरुमा यसभन्दा अघि नै नयाँ ‘सिटी स्क्यान’ मेसिनहरू खरिद गरिएको छ, तर बाँकेमा भने पुरानै मेसिनबाट काम चलाइएको थियो । लामो समयसम्म कामगर्दा बेला–बेला मेसिन बिग्रिँदै आएको थियो ।

अब यसले कामगर्न सक्ने अवस्थामा नभएको अस्पतालले जनाएको छ । अहिले ‘सिटी स्क्यान’ मेसिनको एक्स–रे ट्युब बिग्रिएको छ । यो मेसिन १६ वटा मेसिन ल्याइसकेको हो । सरकारले अब १२८ सलाईसका मेसिन राख्ने मापदण्ड बनाएको छ । हाल अन्य सरकारी अस्पतालमा अहिलेको आधुनिका ‘सिटी स्क्यान’ मेसिन जडान छन् ।

आधुनिक मेसिनका लागि सङ्घीय सरकारलाई करिब १० औं पटक अनुरोध पत्र पठाइएको अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले बताए । ‘भेरीमा हामीसँग भएको ‘सिटी स्क्यान’मेसिन धेरै पुरानो हो,’ अध्यक्ष शाहले भने, ‘मर्मत गर्ने भनेर पैसा आएको थियो तर पछिल्लो जेनजी आन्दोलनपछि खर्च रोकिएको भन्ने थियो पछि के भयो आफुलाई जानकारी छैन ।’

भेरी अस्पतलमा दैनिक करिब २०–२५ जना ‘सिटी स्क्यान’ गर्नुपर्ने बिरामीको आउने गरेका छन् । तर भेरीमा उक्त सुविधा नहुँदा बिरामी अन्य निजी अस्पताल जानुपर्ने बाध्यता छ । हालको आधुनिक मेसिन ल्याउनका लागि करिब सात करोड बढी रकम आवश्यक पर्छ । अस्पतालमा आउने बिरामीलाई गुणस्तरीय सेवा दिनको लागि ‘सिटी स्क्यान’ मेसिन अति आवश्यक पर्ने गर्छ । तर भेरीमा भने कहिले यो सुविधा पुनः सञ्चालन हुन्छ भन्ने बारेमा टुङ्गो छैन ।

प्रकाशित मिति : २०८२ कात्तिक २१ गते शुक्रबार