२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

अमेरिकी राजनीतिमा उदाइन् विनिता

अमेरिकामा हालै सम्पन्न स्थानीय निर्वाचनमा विनिता पुरी राई स्वातारा टाउनसिपकी आयुक्त पदमा विजयी भएकी छिन् । तेक्वान्दो प्रशिक्षक उनी स्वातारा टाउनसिपको आयुक्त बनेपछि चर्चा पनि चुलिएको छ । विनिताको विजयले मध्य पेन्सिलभेनियामा बसोबास गर्ने नेपाली भाषी, नेपाली समुदाय तथा दक्षिण एसियाली समुदायमा खुसियालीसमेत छाएको छ ।

समावेशी नेतृत्व, पारदर्शिता तथा समुदायको दिगो विकासलाई प्राथमिकता दिएकी उनले स्थानीय पूर्वाधार सुधार, युवाको सहभागिता विस्तार र सबै वर्गका बासिन्दाको हितमा समान अवसर सुनिश्चित गर्ने प्रतिवद्धता जनाएकी थिइन् । विजयपछि उनले सम्पूर्ण समुदायको विजय भएको प्रतिक्रिया दिएकी छन् । निर्वाचनको नतिजा आउनुअघि स्थानीय माहोल पनि निकै रोचक बनेको थियो ।

नोभेम्बर ४ तारिख रातको साढे ११ बजेको थियो । ह्यारिसबर्गस्थित स्वातारा टाउनशीपमा रहेको इन्डियन करी रेस्टुरेन्टको हलमा आफ्ना समर्थक र शुभेच्छुकलाई सम्बोधन गर्न विनिता मन्च चढिन् । स्वातारा टाउनशीप आयुक्त पदका लागि मंगलबार सम्पन्न चुनावको मतगणनाको अन्तिम नजिता आइसकेको थिएन । यद्यपि विनितासहित डेमोक्र्याटिक पार्टीका अर्का उम्मेद्वार बेन डगलस निर्वाचित हुने लगभग निश्चित भइरहेको थियो ।

उनले भनिन्, ‘अघि विनयजीले भनिसक्नु भएको छ, म अलिकति भावुक भएको छु, सबै कुरा मेरातर्फ आइरहेको छ, सर्वप्रथम सबैलाई धन्यवाद दिन चाहन्छु मेरो मनदेखि, आज हाम्रो विजय भएको दिन ।’ विनिताले त्यति भन्दा नभन्दै उनको पछाडि रहेको ठूलो पर्दामा अन्तिम नजिता अद्यावधिक भयो । ‘दशमा दश’ दर्शक दीर्घामा रहेका कसैको आवाज आयो । ‘यहाँ हेर्नुस्, मेरो नाम आउना साथ’, पछाडि रहेको ठूलो पर्दातिर फर्कँदै विनिताले भनिन् ‘टेन अप दि टेन, दिस इज दि विनर’ (दशमा दश यो विजय हो) ।

‘ओके आइएम सो ह्याप्पी’ (म धेरै खुसी छु) त्यसपछि विनिताको गला बस्यो । उनी एकाएक भक्कानिइन् । ‘हामीले गर्यौं, हामीले गर्यौँ’ केही समय रोकिएपछि उनी बोलिन् । फेरि पनि उनलाई बोल्न कठिन भयो । हलमा उपस्थितले उनलाई प्रोत्साहन गरिनै रहे । केही समयपछि उनी फेरि बोल्न थालिन् । हुन पनि त्यो हलको माहोल, स्तब्ध तर उल्लासपूर्ण थियो । हलमा रहेका विनिताका पिता देउराज पुरी आँफै पनि यो सपना हो किन भन्दै थिए ।

नहोस् पनि किन् । उनकी कान्छी छोरी तेक्वान्दो प्रशिक्षक विनिता अब स्वातारा टाउनशीपको नवनिर्वाचित आयुक्त भइसकेकी थिइन् । विनिता जतिबेला ६ वर्षकी थिइन् । देउराजले डोहोर्याउँदै विनितालाई तेक्वान्दो खेल्ने ठाउँमा पुर्याएका थिए । तिनै विनिता आज विश्वको सर्वशक्तिमान् मुलुक अमेरिकाको जननिर्वाचित प्रतिनिधि बनिन् । अझ त्यो भन्दा गौरवको कुरा विनिता अमेरिकामा नेपाली भाषी भुटानी समुदायबाट पहिलो महिला जनप्रतिनिधि भइन् ।

उनको यो यात्रा सजिलो थिएन । पेन्सिल्भेनिया ‘स्विङ स्टेट’ । गत वर्षको चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पले बाजी मारेको । स्वातारा टाउनशीपमा पनि विनिताका प्रतिद्वन्द्वी रिपब्लिकन पार्टीका थिए। दुवै जना बहालवाला आयुक्त । दुई पदका लागि चार जनाको भिडन्त । आगामी चार वर्षको कार्यकालका लागि सत्ता पक्ष र प्रतिपक्षको भिडन्त । कुल १२ हजार ८५२ मत खस्दा, डेमोक्रेटिम पार्टीका बेन डगलस २७ दशमलव ६५ प्रतिशत अर्थात तीन हजार ५५४ मत पाएर पहिलो भए ।

विनिता राई २६ दशमलव ८७ प्रतिशत अर्थात तीन हजार ४५३ मतसहित दोस्रो हुँदै विजयी भइन् । प्रतिद्वन्द्वी रिपब्लिकन पार्टीका माइकल टकी दुई हजार ९३६ मत । २२ दशमलव ८४ प्रतिशत र क्रिस्टिन जुबेक दुई हजार ८९४ मत । २२ दशमलव ५२ प्रतिशत ल्याए । यस अगाडि विनिताको परिचय फरक थियो । भुटान हुँदै नेपालको शरणार्थी क्याम्पमा संघर्ष गरेको अनि तेक्वान्दो खेलाडी भएको परिचय थियो । अमेरिका आएपछि तेक्वान्दोले उनको जीवन फेरिदिएको थियो ।

दुई सन्तानकी आमा र श्रीमती वा बुहारी । यी सबै जिम्मेवारीलाई कुशलतापूर्वक पुरा गर्दै उनले तेक्वान्दो स्कुल खोल्ने आँट दुई वर्ष अघि गरेकी थिइन । उनी भुट्नीज कम्युनिटी अफ ह्यारिसबर्ग (बीसीएच)को उपाध्यक्षसमेत बनेकी थिइन् । विजयी घोषित भएपछि उनी साथीहरूलाई अँगालो हाल्दै धेरै बेर रोइन । उनका आँखाबाट आँशु बरबर झरेका थिए । विनिताले आफ्नो पीडा त्यो आँशुमा झारेकी थिइन् । आँशुमा मात्र होइन उनले शब्दमा पनि व्यक्त गरिन् ।

‘आज म यहाँ मेरा सबै समर्थक, मेरा सबै स्वयंसेवकको कारणले छु जसले पहिलो दिनदेखि नै समर्थन गरिएको छ । मलाई थाहा छ म धेरै भावुक छु । म मेरो हृदयदेखि धन्यवाद दिन चाहन्छु र आज तपाईँहरू सबैबाट आभारी छु,’ विनिताले भनिन् । विनितालाई अमेरिकी मूलधारको राजनीतिमा ल्याउने स्वातारा टाउनशीपका आयुक्त टम कोलनीले उनको जीत अविश्वसनीय, ऐतिहासिक भएको बताए ।

प्रकाशित मिति : २०८२ कात्तिक २१ गते शुक्रबार