२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

हात्तीको आक्रमणबाट कञ्चनपुरमा १७ जनाको मृत्यु

कञ्चनपुरमा मानव–वन्यजन्तु द्वन्द्व पछिल्लो समय बढेसँगै बितेका नौ वर्षमा जंगली हात्तीको आक्रमणबाट मात्रै १७ जनाको मृत्यु भएको छ । जसमा तीन महिला र १४ पुरुष छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको तथ्यांक अनुसार २०७३ सालयता निकुञ्ज, राष्ट्रिय तथा सामुदायिक वन वरपर ती मानिसहरू हात्तीको आक्रमणमा परेका थिए ।

डिभिजन वन कार्यालय कञ्चनपुरका अधिकृत सोफिया भट्टराईले राष्ट्रिय वन तथा सामुदायिक वन र आसपासका क्षेत्रमा मात्रै नौ वर्षमा आठ जनाले ज्यान गुमाएको बताइन् । ‘मृत्यु भएका मानिसका परिवारलाई प्रतिव्यक्ति १० लाखका दरले क्षतिपूर्ति दिइएको छ,’ उनले भनिन्, ‘घाइतेहरूको प्रकृति हेरेर उपचार खर्च दिने व्यवस्था रहेको छ ।’

पछिल्लो समय कञ्चनपुरको भीमदत्त, बेलौरी, बेदकोट, शुक्लाफाँटा नगरपालिका र लालझाडी र बेलडाँडी गाउँपालिकामा जङ्गली हात्तीले नोक्सान पुर्याउँदै आएका छन् । जङ्गली हात्ती बस्ती पस्दा स्थानीय रातभर जाग्राम बस्ने गरेका छन् भने पालिका र सरोकारवाला निकाय हात्ती धवाउन खटिन गरेका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकृत पुरुषोत्तम वाग्लेका अनुसार यस वर्ष निकुञ्ज र मध्यवर्ती क्षेत्रमा जङ्गली हात्तीको आवातजावत बढी देखिएको छ । उनले हात्ती धपाउन निकुञ्ज र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको श्रीरणसिंह दलगण टोली तयारी अवस्थामा रहने गरेको जानकारी दिए ।

प्रकाशित मिति : २०८२ कात्तिक २१ गते शुक्रबार