२०८३ भदौ ९ , मंगलबार 25, August 2026, Tuesday

‘जेनजी’ प्रदर्शनपछि रेकर्डमा भेटिएन ९८ हजार राउण्ड गोली

गत भदौ २३ र २४ मा भएको ‘जेनजी’ आन्दोलन र प्रदर्शनका क्रममा काठमाडौं उपत्यका र उपत्यकाबाहिर रहेका प्रहरी कार्यालयहरूबाट हजारौँको संख्यामा गोली लुटपाट भएको प्रहरीको आन्तरिक छानविन प्रतिवेदनले देखाएको छ । डिआइजी नेतृत्वको आन्तरिक छानविन समितिले ‘जेनजी’ प्रदर्शनका क्रममा हराएका र लुटिएका कारण ९८ हजारभन्दा धेरै धातुको गोली (जंगी राउण्ड) रेकर्डमा नभेटिएको रिपोर्ट बुझाएको हो ।

प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयका डिआइजी दीपक रेग्मी नेतृत्वको समितिले आइजिपी चन्द्रकुवेर खापुङलाई बुझाएको प्रतिवेदनमा काठमाडौं उपत्यकाबाट मात्रै करिब ६०० राउण्ड गोली हराएको र आन्दोलनकारीले डमी राउण्ड पनि लुटेको उल्लेख छ । आन्दोलनकारीलाई भगाउन प्रयोग गरिएको ‘डमी राउण्ड’ करिब दुई हजार २०० रेकर्डमा नभेटिएको प्रतिवेदनमा भनिएको छ ।

त्यस्तै, ‘जेनजी’ आन्दोलनपछि फायर गरिएको बाहेक एक हजार ३०० रबर बुलेट हराएको विवरण संकलन गरिएको छ । लुटपाट र मिसिङ हुँदा अश्रुग्याँस सेल दुई हजार ८०० वटा रेकर्डमा फेला परेको छैन । म्याग्जिन (गोली राख्ने भाँडो) एक हजार ७०० थान हराएको प्रतिवेदनमा उल्लेख छ । जेनजी प्रदर्शनमा प्रहरीले छ हजार ५०० राउण्डभन्दा धेरै गोली प्रहार गरेको भेटिएको छ ।

प्रहरीको आन्तरिक रिपोर्टअनुसार जंगी राउण्ड चार हजार र दुई हजार ५०० राउण्डभन्दा धेरै रबर बुलेट प्रहार गरेको भेटिएको हो । प्रहरीको आन्तरिक प्रतिवेदनमा प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले आठ हजार सेल अश्रुग्याँस प्रहार गरेको उल्लेख छ । काठमाडौं उपत्यकामा मात्र चार हजार सेल अश्रुग्याँस प्रहार गरिएको छ । बानेश्वरसहित देशभर दुई हजार ५०० राउण्डभन्दा धेरै रबर बुलेट प्रहार गरेको भेटिएको छ । प्रदर्शनकारी भगाउन दुई हजार ५०० भन्दा धेरै ब्ल्याङ्क राउण्ड फायर गरेको भेटिएको छ ।

७४७ थान हतियार बरामद

‘जेनजी’ प्रदर्शनपछि स्थिति सामान्य भएसँगै प्रहरीले हराएका एक हजार २०० थान हतियारमध्ये ७४७ थान हतियार फेला पारेको जनाएको छ । अझै ४५३ थान हतियार बाहिर छन् । काठमाडौं उपत्यका र प्रदेशका युनिटहरूबाट प्रदर्शनकारीले लुटेर लगेको करिब तीन हजार ५०० राउण्ड गोली बरामद गरिएको छ । प्रदर्शन स्थलमा हराएको र युनिटहरूबाट लुटिएको करिब २०० अश्रुग्याँस सेल पनि प्रहरीले बरामद गरेको छ ।

३७५ जना पक्राउ, १४१ वटा मुद्दा दर्ता

‘जेनजी’ आन्दोलनको क्रममा तोडफोड, आगजनी र लुटपाट गरेको आरोपमा प्रहरीले हालसम्म ३७५ जनालाई पक्राउ गरेको छ । उक्त आन्दोलनमा तोडफोड, आगजनी र लुटपाट गरेको अभियोगमा पक्राउ परेकालाई कर्तव्य ज्यानदेखि आपराधिक उपद्रव, हातहतियार खरखजना, चोरी र अभद्रको कसुरमा मुद्दा चलाइएको छ ।

पक्राउ पर्नेमा सबैभन्दा बढी काठमाडौं उपत्यकाबाट २१८ जना, कोशी प्रदेशमा ३० जना, मधेस प्रदेशमा २१ जना र बागमती प्रदेशबाट ३३ जना रहेका छन् । यस्तै, गण्डकीमा ३२ जना, लुम्बिनीमा २९ जना, कर्णालीमा चारजना र सुदूरपश्चिम प्रदेशमा आठजना पक्राउ परेका गृह मन्त्रालयले जनाएको छ ।

प्रहरीले इमेलमा आगजनी तथा तोडफोड, लुटपाट जस्ता गतिविधिका ३६ हजारभन्दा बढी भिडियो, फोटोहरूसहितको प्रमाण संकलन गरिएको र प्राप्त भिडियो, फोटोहरूको आधारमा व्यक्ति पहिचान गरेर कारबाही गरिने जनाएको छ । त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २३ र २४ भदौमा भएको आन्दोलनको क्षति विवरणसहित जिल्ला प्रहरी परिसरमा उजुरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ कात्तिक २० गते बिहीबार