दुर्लभ वन्यजन्तुको सूचीमा रहेको कृष्णसार अवलोकनका लागि आन्तरिक तथा विदेशी पर्यटकहरू बर्दियाको कृष्णसार संरक्षण क्षेत्रमा पुग्ने गरेका छन् । यो संरक्षण क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जबाट करिब ४५ किलोमिटर टाढा गुलरिया नगरपालिका–२ खैरापुर मा पर्छ ।
कृष्णसार संरक्षण क्षेत्रको तथ्याङ्क अनुसार, गत आर्थिक वर्ष २०८१–८२ मा स्वदेशी, सार्क क्षेत्रका र अन्य विदेशी गरी चार हजार ६०० पर्यटक ले कृष्णसारको अवलोकन गरेका थिए । यद्यपि, यस आर्थिक वर्षमा भने वर्षायामका कारण पर्यटकको सङ्ख्यामा कमी आएको बताइएको छ । पर्यटकहरू दिनभर अवलोकन गरेर बर्दिया निकुञ्ज वरपरका होटेलहरूमा फर्कने गर्छन् ।
हाल कृष्णसार संरक्षण क्षेत्रमा २४८ वटा कृष्णसार रहेका छन् । सरकारले २०६५ साल चैत ३ गते यो क्षेत्रलाई कृष्णसार संरक्षण क्षेत्र घोषणा गरेको थियो । यसको कुल क्षेत्रफल १६.९५ वर्ग किलोमिटर छ । जसमध्ये कृष्णसारको वासस्थान क्षेत्र ५.२७ वर्ग किलोमिटर र वरिपरिको प्रभावित क्षेत्र ११.६८ वर्ग किलोमिटर रहेको छ । कृष्णसार खुला घाँसे मैदान (दुबो र काँस)मा बस्न रुचाउँछन् ।
त्यसैले, तिनीहरू आबादी नजिकै गाई, भैँसी, भेडाबाख्राहरू सँगसँगै चरिरहेको र बसिरहेको देख्न सकिन्छ । उनीहरूको सङ्ख्या निरन्तर अवलोकन गरेर अद्यावधिक गरिन्छ । संरक्षण क्षेत्रलाई व्यवस्थित बनाउनका लागि भौतिक निर्माण तथा वासस्थान व्यवस्थापनका कामहरू भइरहेका छन् । भविष्यमा यसको संरक्षण र व्यवस्थापनको जिम्मा स्थानीय समुदायलाई हस्तान्तरण गर्ने योजना पनि रहेको छ ।
शुल्क कति लाग्छ ?
सरकारले कृष्णसार संरक्षण क्षेत्र घोषणा गरेपछि पर्यटकहरूका लागि शुल्क पनि निम्नानुसार तोकेको छ ।
विदेशी पर्यटक – रु.२,०००
सार्क देशका पर्यटक – रु.५००
नेपाली पर्यटक – रु. १००
हेर्नुस् तस्वीरहरु :

तस्वीरहरु : प्रकाशचन्द्र तिमिल्सेना । नेपाल फोटो लाइब्रेरी
सत्यपाटी