२०८३ जेठ ४ , सोमबार 18, May 2026, Monday

माओवादी र समाजवादीसहित नौं दलबीच आज पार्टी एकता घोषणा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ कात्तिक १९ गते बुधबार

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका नौं वटा पार्टीहरूबीच आज एकता घोषणा हुने भएको छ । माओवादी केन्द्रका नेता अग्नि सापकोटाले एकताका लागि यसअघि सहमति पत्रमा हस्ताक्षर गरेका पार्टीबिच काठमाडौँको भृकुटीमण्डपमा आज बिहान ११ बजे एकता घोषणा हुने बताए ।

एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ र चुनाव चिन्ह भने पाँचकुने तारा  राख्ने दलहरूबीच सहमति भएको छ । यसअघि हिजो नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी प्रस्ताव पारित गरेको थियो । यद्यपि यो एकताको विरोध गर्दै माओवादी केन्द्रका नेता जनार्दन शर्मा समूहले छुट्टै अभियान घोषणा गरिसकेका छन् ।

उता एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल लगायत पनि एकता प्रक्रियामा सामेल नहुने भएका छन् । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भने एमालेका पूर्वउपाध्यक्ष डा.भीम रावलसहित दुवै पार्टीमा असन्तुष्ट रहेका नेतालाई पनि एकता प्रक्रियामा ल्याउने प्रयास भइरहेको दाबी गर्दै आएका छन् ।

माओवादी नेता अग्नि सापकोटाले यसअघि सहमति पत्रमा हस्ताक्षर गरिसकेका दलहरूबीच आज औपचारिक एकता कार्यक्रम तय गरिएको बताए । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पाटी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादीबीचमा पार्टी एकता हुदैछ ।

प्रकाशित मिति : २०८२ कात्तिक १९ गते बुधबार