२०८३ जेठ २५ , सोमबार 9, June 2026, Tuesday

बाँकेमा हात्ती परिचालन गरेर बाघको खोजी तीव्र

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ कात्तिक १८ गते मंगलबार

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दा वन्यजन्तुबाट हुनसक्ने आक्रमणबाट त्रसित हुँदै आएका छन् । निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत राप्तीसोनारी गाउँपालिका–९ स्थित गुरुवागाउँका इन्द्रबहादुर खत्रीलाई आक्रमण गर्ने वन्यजन्तुको पहिचान नहुँदा स्थानीयवासी त्रसित हुन पुगेको राप्तीसोनारी–९ का वडाध्यक्ष सोहनलाल थारूले जानकारी दिए ।

उनका अनुसार गत कात्तिक ८ गते स्थानीय रिम्ना सामुदायिक वनमा घाँस काट्न गएका ४० वर्षीय खत्रीको सोही सामुदायिक वनको चिल्लेपाटा भन्ने स्थानमा क्षतविक्षत अवस्थामा शव फेलापरेको थियो । तर घटना घटेको दश दिन बितिसक्दासमेत जङ्गली जनावर फेलापरेको छैन । बाँके राष्ट्रिय निकुञ्जबाट बाहिर निस्कने बाघ र चितुवाले निकुञ्ज वरिपरिका क्षेत्रमा घाँस दाउरा गर्न गएका मानिसहरुमाथि निरन्तर आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेको थारूको भनाइ छ ।

आक्रमण गर्ने वन्यजन्तुको पहिचान र नियन्त्रणको लागि घटना भएको क्षेत्रमा पाँच सयदेखि एक किलोमिटर क्षेत्रको फरकमा नौ थान ‘क्यामेरा’ जडान गरिए पनि क्यामेरामा जङ्गली जनावर नदेखिएको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दीप पङ्गेनीले जानकारी दिए । ‘स्थानीयवासीलाई थप जोखिम नहोस् र सुरक्षाको प्रत्याभूति होस् भन्ने उद्देश्यले निकुञ्जबाट प्रविधिको प्रयोगका साथै दैनिक मानवीय जनशक्ति खटाएर बाघ नियन्त्रणको प्रयास भइरहेको छ,’ उनले भने ।

उनका अनुसार निकुञ्जका जनशक्ति, नेपाली सेनाका साथै तीनवटा हात्ती परिचालन गरेर बाघको खोजी भइरहेको छ । बाँके निकुञ्ज वरिपरिका क्षेत्रमा प्रायःजसो बाघ र चितुवाको आक्रमणका घटना भइरहेकाले स्थानीय बासिन्दालाई घाँस दाउरा गर्न जाँदा एक्लै नजान र साँझको समयमा अनावश्यक रूपमा वनजङ्ल नजिक नजान अनुरोध गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए ।

उनले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि निकुञ्जले विभिन्न गतिविधि गर्दै आएको उल्लेख गर्दै वन्यजन्तुबाट मृतक तथा घाइतेलाई कानुनबमोजिम राहत तथा क्षतिपूर्ति उपलब्ध गराइने उल्लेख गरे । आगामी दिनमा बाघका कारण हुनसक्ने जोखिम न्यूनीकरण र मध्यवर्ती क्षेत्रका नागरिकले अपनाउनुपर्ने सावधानीका विषयमा समेत स्थानीय र सरोकारवाला निकायसँग छलफल गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८२ कात्तिक १८ गते मंगलबार