२०८२ कात्तिक ३० , आइतबार 17, November 2025, Monday

बाँकेमा एक लाख ६० हजार मेट्रिकटन धान उत्पादन, निर्धारण गरियो खरिद मूल्य

सत्यपाटी
सत्यपाटी । बाँके । २०८२ कात्तिक १८ गते मंगलबार

बाँके जिल्लामा यस वर्ष एक लाख ६० हजार मेट्रिकटन भन्दा बढी धान उत्पादन हुने कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । सुरुदेखिनै अनुकुल मौसम र समयमा रोपाइँ भएको तथा पछिल्लो पटकको वर्षामा क्षति पनि नभएकोले यस वर्ष विगतभन्दा १५ हजार मेट्रिकटन बढी धान उत्पादन हुने कृषि ज्ञान केन्द्र बाँकेका कृषि प्रसार अधिकृत खडक बस्नेतले बताए ।

उनले यस वर्ष जिल्लामा किसानका लागि सुरुदेखि नै मौसम अनुकुल भएको र बिचमा बाढी आएर धान नोक्सानी पनि नभएकोले धानको उत्पादनमा वृद्धि भएको बताए । अधिकृत बस्नेतले अहिले धान भित्र्याउने कार्य अन्तिम चरणमा पुगेको जनाउँदै कृषि ज्ञान केन्द्रलाई प्राप्त भएको उत्पादन तथ्याङ्क अनुसार यस वर्ष ३४ हजार ७११ हेक्टरमा धान खेती गरिएकोमा प्रति हेक्टर ४.६ मेट्रिकटन उत्पादन भई कुल एक लाख ६० हजार मेट्रिकटन धान उत्पादन हुने बताए ।

गत वर्ष ३४ हजार ५०२ हेक्टरमा धान खेती गरिएकोमा प्रति हेक्टर ४.२ मेट्रिकटनका हिसाबले उत्पादन भएर एक लाख ४५ हजार मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । बाँकेमा धान उत्पादनमा यस वर्ष १५ हजार मेट्रिकटन वृद्धि हुने जनाउँदै सो कार्यालयले सिँचाइको थप सुविधा बढ्दै गएको खेती र उत्पादन दुबै वृद्धि हुँदै जाने जनाएको छ । उत्पादनमा वृद्धि भएपछि किसानहरू निकै खुसी देखिएका छन् ।

जिल्लाका अधिकांश किसानले सरकारले तोकेको मुल्यमा धान बिक्री गर्न सकिने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । डुडुवा गाउँपालिका–५ का किसान रमेश मौर्यले गत वर्ष भन्दा यसवर्ष धानको उत्पादन वृद्धि भएकोले आफू लगायत यस क्षेत्रका सबै किसानको अनुहार उज्यालो देखिएको बताए । उनले समयमा नै पानी परेको र मलको समस्या भए पनि समयमा नै रोपाइँ भएकाले धानको उत्पादन बढेको जनाए । सरकारले समयमा किसानलाई मल खाद्य उपलब्ध गराउन सके उत्पादनमा झन् वृद्धि हुने अधिकांश किसानको भनाइ छ ।

यसैबीच, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेका किसानबाट धान खरिदका लागि मूल्य निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङको अध्यक्षतामा मङ्गलबार बसेको प्राथमिक खरिद समितिको बैठकले मोटा धान प्रति क्विन्टल तीन हजार ४६३ रुपियाँ ८१ पैसा र मध्यम धान प्रति क्विन्टल तीन हजार ६२८ रुपियाँ ३३ पैसामा खरिद गर्ने गरी मुल्य निर्धारण गरेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेका प्रमुख रामशरण लामिछानेले मूल्य निर्धारणको काम गरिए पनि आन्तरिक तयारी गरी आइतबारबाट मात्रै किसानबाट धान खरिद सुरु गरिने जानकारी दिए । कार्यालय प्रमुख लामिछानेले भने, ‘गोदाम व्यवस्थापन लगायतका अन्य प्राविधिक काम सकेर किसानबाट धान खरिद गर्नेछौं ।’ बैठकमा प्रमुख जिल्ला अधिकारी तामाङले किसानले बजारमा सरकारी मुल्य भन्दा कममा धान बिक्री गरिरहेको भन्दै छिटो धान खरिद थाल्न निर्देशन दिए । बाँकेमा यस वर्ष मोटा धान १५ हजार क्विन्टल र मध्यम धान ५ हजार क्विन्टल किसानबाट खरिद गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक १८ गते मंगलबार