२०८३ भदौ ८ , सोमबार 24, August 2026, Monday

युनिसेफबाट बर्खास्त भएकी थिइन् स्वास्थ्यमन्त्री शर्मा

स्वास्थ्यमन्त्री सुधा शर्माको योग्यतामाथि प्रश्न उठेको छ । उनी स्वास्थ्यसचिव जस्तो जिम्मेवार पद छाडेर युनिसेफमा जागिर खान गएकी थिएन् । तर, युनिसेफबाट उनी बर्खास्त भएको स्रोतले दाबी गरेको छ । एमाले आवद्ध चिकित्सकहरूको संगठन राष्ट्रिय चिकित्सक संघले स्वास्थ्यमन्त्री शर्माको योग्यतामाथि प्रश्न चिन्हसहित वक्तव्य नै जारी गरेको छ ।

संघका प्रवक्ता डा.अरुण उप्रेतीले वक्तव्य जारी गरी जिम्मेवार सचिवजस्तो व्यक्ति पद नै छोडेर युनिसेफमा जागिर खान गएको सन्दर्भ उठाएका छन् । मन्त्री शर्माले २०६५ असोजदेखि ०६८ पुससम्म स्वास्थ्य सचिवको रुपमा कार्यरत रहंदा पदको दुरुपयोग गरी आफ्ना छोरा डा. गौरव शर्मालाई विश्व स्वास्थ्य संगठन दिल्लीको क्षेत्रीय कार्यालयमा जुनियर अफिसरको रुपमा नियुक्ति दिलाएकी थिइन् । गौरव यतिबेला अमेरिकामा छन् ।

सरोकारवालाहरूले प्रश्न उठाउन थालेपछि उनी सामाजिक सञ्जाल बन्द गरेर बसेका छन् । पहुँच नभएका ब्यक्तिहरूलाई पछि पारेर भनसुनको आधारमा छोरा गौरबलाई अयोग्य भए पनि नियुक्ति दिलाएकै कारण संगठनको जेनेभा मुख्यालयमा कार्यरत नेपालीलाई समेत नेपालका जिम्मेवार व्यक्तिको गैरजिम्मेवार कामले अप्ठेरो परेको थियो । पछि गौरब बिचमै जागिर छोडेर हिडेकी थिइन् ।

क्षमता कमजोर भए पनि अन्य अन्तर्राष्ट्रिय संस्थामा प्रवेशको लागि बलियो आधार बन्ने र राम्रै आम्दानी हुने सो पदमा जान चाहने अरू उम्मेदवार वन्चित हुनुपरेको थियो । जेनजी युवाहरूले नेपो बेबी अभियान चलाएका थिए । त्यही समूहमा पर्ने डा.शर्माले तत्काल राजीनामा दिनुपर्ने माग उठेको छ । ‘उनले पदको दुरुपयोग गरेर छोराको नियुक्ति दिलाएकी हुन् । मेरै आँखा अगाडि भएको कुरा हो यो’ उक्त समय जेनेभाबाट दिल्ली पुगेका एक अधिकृतले भने ।

तत्कालीन स्वास्थ्यमन्त्रीद्वय राजेन्द्र महतो र उमाकान्त चौधरीको दबाबका कारण काम गर्ने वातावरण नभएको भन्दै राजीनामा दिएको बताएकी शर्मा स्वास्थ्यसचिव छंदै विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशनालय दिल्लीमा उच्च तहको जागिरको लागि निकै प्रयास गरेकी थिइन् । त्यता सफल नभएपछि उनले युनिसेफतिर जागिर खान आवेदन दिएकी थिइन् । अन्ततः राजनीतिक नेतृत्वलाई दोष दिएर सचिवको जिम्मेवारी छोडेर युनिसेफको जागिरेको रुपमा तान्जेनिया पुगिन् ।

राष्ट्रसेवक कर्मचारी पैसाको लोभमा यसरी कुँदेको उनकै सहकर्मीलाई उतिबेलै चित्त बुझेको थिएन । तान्जेनियामा रहँदा उनले सहकर्मी जागिरेलाई थप्पड हानेर विवादमा समते आएकी थिइन् । युनिसेफको केन्द्रीय कार्यालयमा उजुरी परेपछि सोही थप्पड काण्डबारे संस्थामा आन्तरिक छानबिन भएको थियो । र, उनी बर्खास्तमा परेकी थिइन् । ‘जेनजी आन्दोलनको मूल मर्मलाई आत्मसात गर्ने हो भने प्रधानमन्त्री सुशीला कार्कीले तत्काल स्वास्थ्यमन्त्री शर्मालाई बर्खास्त गर्नुपर्छ,’ मन्त्री शर्मालाई चिन्ने अन्तर्राष्ट्रिय संस्थामा कार्यरत अधिकारीहरूले भने ।

प्रकाशित मिति : २०८२ कात्तिक १८ गते मंगलबार