२०८२ कात्तिक ३० , आइतबार 17, November 2025, Monday

अहमदावाद विमान दुर्घटनामा बाँच्न सफल एक्ला यात्री के भन्छन् ?

सत्यपाटी
सत्यपाटी । लन्डन । २०८२ कात्तिक १८ गते मंगलबार

केही महिनाअघि भारतको अहमदावादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा २४१ जनाको मृत्यु हुँदा एकमात्र जीवित यात्री विश्वासकुमार रमेश आफूलाई संसारकै भाग्यमानी मानिस मान्छन् । यसका बाबजुद रमेश शारीरिक र मानसिक रूपमा ठुलो समस्यामा छन् । अहमदावादबाट लन्डनतर्फ जान लागेको उक्त विमान दुर्घटना हुँदा भग्नावशेषबाट बाहिर निस्किँदै गरेका रमेशको तस्बिर र भिडियो विश्वमै चर्चित रह्यो ।

रमेशले बीबीसी न्यूजसँगको कुरामा भने, ‘म बाँच्नु एउटा चमत्कार नै हो ।’ यद्यपि आफूले सबै कुरा गुमाएको उनले बताए । सोही विमानमा उनका भाइ अजय पनि सवार थिए, जसको उक्त दुर्घटनामा मृत्यु भयो । रमेश अहिले ‘पोस्ट–ट्रामेटिक स्ट्रेस डिसअर्डर’ (पीटीएसडी) समस्या झेल्दैछन् । ‘म एक्लै बाँचे । मलाई अहिलेसम्म विश्वास लागिरहेको छैन । यो कुनै चमत्कारभन्दा कम होइन,’ उनले भने ।

भाइ आफ्नो लागि ठुलो सहारा रहँदै आएको जिकिर गर्दै उनले उसको मृत्युले सबै कुरा गुमाउनु परेको बताए । उक्त दुर्घटनापछि परिवारको जीवन नै परिवर्तन भएको उनको भनाइ छ । ‘म एक्लै भएँ । कोठामा चुपचाप बस्छु । पत्नी र छोरासँग पनि कुरा गर्दिनँ । मलाई एक्लै बस्न मन लाग्छ,’ उनले भने । एयर इन्डियाका तर्फबाट विश्वासकुमार रमेश र दुर्घटनाबाट प्रभावित सबै परिवारजनको हेरचाह ‘हाम्रो सबैभन्दा ठुलो प्राथमिकता’ भनिएको थियो ।

भारतबाट बेलायत फर्किएपछि ३९ वर्षीय रमेशले पहिलो पटक मिडियासँग कुरा गरेका हुन् । दुर्घटना भएको दिनका बारेमा सोधिएको प्रश्नको जबाफमा उनले ‘म अहिले त्यसबारे केही भन्न सक्दिनँ’ भनेका थिए । लेस्टरमा स्थानीय समुदायका नेता संजीव पटेल र आफ्नो परिवारका प्रवक्ता रेड सीगरका साथ बसेका रमेशले दुर्घटनाको स्मरण गर्नु आफ्नोलागि निकै मुस्किल हुने बताएका थिए ।

उनले भने, ‘यो दुर्घटनापछि शारीरिक र मानसिक रूपमा जीवन धेरै कठिन भएको छ । मेरो परिवार पनि मानसिक रूपमा धेरै चिन्तित छ । मेरी आमा पछिल्लो चार महिनादेखि प्रत्येक दिन ढोका बाहिर बस्नुहुन्छ । कसैसँग कुरा गर्नुहुन्न ।’ आफू पनि कसैसँग कुरा नगर्ने, कोहीसँग बोल्न मन नलाग्ने अवस्थामा रहेको उनले बताए । ‘रातभरि सोच्छु, दिमागमा धेरै बोझ छ,’ उनले भने । आफ्नो खुट्टा, काँध, घुँडा र पिठ्युँ दुखिरहने रमेशले बताए ।

उनले भने, ‘दुर्घटनापछि मैले केही काम गर्न सकेको छैन । न गाडी चलाउन सक्छु, न राम्ररी हिँड्न सक्छु । बिस्तारै हिँड्छु । पत्नीले मलाई सहारा दिन्छिन् ।’ रमेशका सल्लाहकारका अनुसार भारतमा उपचारका क्रममा चिकित्सकले उनलाई पोस्ट–ट्रामेटिक स्ट्रेस डिसअर्डर भएको पुष्टि गरेका थिए । बेलायत फर्किएपछि उनलाई कुनै मेडिकल उपचार सुविधा उपलब्ध नभएको ती सल्लाहकारको भनाइ छ ।

दुर्घटनापछि एयरलाइन्सले रमेशका साथ राम्रो व्यवहार नगरेको उनीहरूको आरोप छ । त्यसैले रमेशले एयरलाइन्सका अधिकारीहरूसँग प्रत्यक्ष भेट गर्न चाहेको उनीहरूले बताए । समुदायका नेता संजीव पटेलका अनुसार रमेश मानसिक, शारीरिक र आर्थिक संकटमा छन् । यो दुर्घटनाले रमेशको पूरै परिवारलाई बर्बाद गरिदिएको उनको भनाइ छ । उनले भने, ‘यो दुर्घटनाका लागि जो जिम्मेवार छन्, उनीहरू आएर पीडित परिवारसँग कुरा गर्नुपर्छ । उनीहरूको आवश्यकता बुझ्न जरुरी छ । उनीहरूको कुरा सुन्नुपर्छ ।’

एयर इन्डियाले रमेशलाई अन्तरिम राहत स्वरुप २१ हजार ५०० पाउन्ड दिने प्रस्ताव गरेको थियो, जसलाई उनले स्वीकार गरे । तर, उनका सल्लाहकारहरूका अनुसार रमेशका लागि यो रकम पर्याप्त होइन । दुर्घटना अघि रमेश र उनका भाइ अजयले भारतको दीवमा माछा कारोबार गर्दथे । त्यो कारोबार पूर्णरूपमा बन्द भइसकेको छ ।

परिवारका प्रवक्ता सीगरका अनुसार पीडित परिवारले एयर इन्डियाका अधिकारीसँग तीन पटक भेटका लागि आग्रह गरिसकेको भए पनि उताबाट नजरअन्दाज गरिँदै आएको छ । त्यसैले मिडियामार्फत चौथो पटक अपिल गरिएको उनको भनाइ छ । एयर इन्डियाले भने आफ्ना शीर्ष अधिकारी रमेशका परिवारसँग नियमित सम्पर्कमा रहेको र रमेशका प्रतिनिधिसँग भेटका लागि सम्पर्क गरिरहेको जनाएको छ । एयरलाइन्सले उताबाट सकारात्मक जबाफको अपेक्षा गरिएको पनि प्रस्ट पारेको छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २०८२ कात्तिक १८ गते मंगलबार