२०८३ जेठ २४ , आइतबार 7, June 2026, Sunday

पश्चिमी वायुको प्रभाव, चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ कात्तिक १८ गते मंगलबार

पश्चिमी वायुको प्रभावका कारण आजबाट दुई दिन नेपालको पश्चिमी भूभागमा वर्षा हुने भएको छ । गण्डकीदेखि पश्चिमका क्षेत्रमा पश्चिमी वायुको प्रभावका कारण वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त प्रभावका कारण कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहँदै अन्य प्रदेशमा मौसम मुख्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहनेछ । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहनेछ ।

नेपालमा हाल पश्चिमी वायुको प्रभाव रहेको छ । पश्चिमी वायुको प्रभाव गण्डकीबाट पूर्व भने खासै धेरै नपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभाव काठमाडौंमा पनि खासै धेरै पर्ने छैन । काठमाडौंमा फाट्टफुट्ट वर्षा हुनसक्ने तर यसको सम्भावना पनि न्यून रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झा बताउँछन् ।

प्रकाशित मिति : २०८२ कात्तिक १८ गते मंगलबार