२०८२ कात्तिक ३० , आइतबार 17, November 2025, Monday

बिजुलीको बिल नतिर्ने उद्योगीले सिमेन्टको मूल्य बढाए

सत्यपाटी
सत्यपाटी । काठमाडौं । २०८२ कात्तिक १७ गते सोमबार

बिजुलीको बिल तिर्न पटक–पटक तोक्दा पनि रकम नतिर्ने सिमेन्ट उद्योगहरूले फेरि मूल्य वृद्धि गरेका छन् । निर्माण सिजन सुरु हुनासाथ देशभरका प्रमुख सिमेन्ट उद्योगहरूले सिमेन्टको मूल्य प्रतिवोरा २० रुपैयाँसम्म बढाएका छन् । उद्योगीहरूले शनिबारदेखि नै नयाँ मूल्य लागू गरेको जनाएका छन् ।

मूल्य बढाउने उद्योगहरूमा हसिन, शिवम्, युनाइटेड, मकवानपुर, सर्वोत्कृष्ट, गोर्खा, सिजी, अम्बे, होङ्सी, सिद्धिसिद्धि, जगदम्बा र तानसेन सिमेन्ट लगायत रहेका छन् । यी उद्योगहरूले ओपीसी र पीपीसी दुवै प्रकारका सिमेन्टमा मूल्यवृद्धि गरेका हुन् । सिजनमै सिमेन्ट महँगो भएपछि उपभोक्ता र निर्माण व्यवसायीहरूले असन्तोष प्रकट गरेका छन् ।

उद्योगीहरूले भने उत्पादन लागत, कच्चा पदार्थ, ढुवानी र ऊर्जा खर्च बढेकाले मूल्य समायोजन गर्नुपरेको बताएका छन् । तर उपभोक्ता र निर्माण व्यवसायीहरूले अहिले मूल्यवृद्धिको समय नभएको भन्दै विरोध जनाएका छन् । निर्माण कार्यको सिजनमै सिमेन्ट महँगो हुँदा भवन, सडक र निजी आवास निर्माणको लागत बढ्ने निश्चित देखिएको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक १७ गते सोमबार