२०८३ साउन १ , शुक्रबार 18, July 2026, Saturday

जेनजी आन्दोलन : फिल्डमा खटिएका प्रहरी इन्चार्जलाई उपत्यका छाड्न प्रतिबन्ध

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ कात्तिक १७ गते सोमबार

जेनजी आन्दोलनका क्रममा भाद्र २३ र २४ गते भएका तोडफोड, आगजनी र झडपका घटनाबारे जाँचबुझ आयोगले अनुसन्धान अघि बढाएसँगै प्रहरी प्रधान कार्यालयले सो बेला फिल्डमा खटिएका प्रहरी इन्चार्जलाई उपत्यका नछाड्न निर्देशन दिएको छ ।

प्रधान कार्यालयले कार्तिक १६ गते काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीलाई पठाएको पत्रमा हालका लागि सम्बन्धित इन्चार्जहरुलाई काठमाडौं उपत्यका नछाड्ने व्यवस्था मिलाउन भनिएको छ ।

पत्रमा उल्लेख गरिएको छ, ‘जाँचबुझ आयोग, २०८२ का सचिवालय सिंहदरबारको च.नं. १०७ मिति २०८२–०७–१६ गतेको पत्र आवश्यक कार्यार्थ संलग्न राखी पठाइएको व्यहोरा निर्देशानुसार अनुरोध गरिएको छ । सो सम्बन्धमा बढी क्षति भएको क्षेत्रहरूमा खटिएका प्रहरी इन्चार्जहरूलाई सोधपुछका लागि कुनै पनि समयमा आयोगमा उपस्थितिको लागि बोलाउनुपर्ने हुँदा हाललाई काठमाडौं उपत्यका नछाड्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।’

आयोगले हाल जेनजी आन्दोलनका क्रममा विभिन्न स्थानमा भएका झडप, प्रहरीद्वारा प्रयोग गरिएको बल र त्यसबाट भएका क्षति सम्बन्धी घटनाको प्रत्यक्ष प्रमाण संकलन, साक्षात्कार तथा आवश्यक विवरण लिन थालेको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक १७ गते सोमबार