विद्यालयका बालबालिकालाई सानैदेखि प्रकृतिको महत्व दर्शाउँदै प्राकृतिक स्रोत साधनको जगेर्ना र सदुपयोग सम्बन्धी जागरण फैलाउने उद्देश्यले बाँकेमा राप्तीसोनारी नेचर रन प्रतियोगिता आयोजना गरिने भएको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिकामा राप्तीसोनारी नेचर रन कात्तिक २२ गते शनिवार आयोजना गरिने धारा नेपालगन्ज म्याराथनका कार्यक्रम संयोजक कपिल थापाले बताए ।
उनले एघार बर्षदेखि निरन्तर आयोजना हुँदै आएको धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका रुपमा राप्तीसोनारी नेचर रन सुरु गरिएको जनाउँदै यसमा राप्तीसोनारी पालिका अन्तर्गत विद्यालयका छात्रछात्राहरुले भाग लिन पाउने बताए । विजेता खेलाडीलाई नगद र पदकले पुरस्कृत गरिने जनाउँदै संयोजक थापाले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताए ।
बिद्यालयका बालबालिकालाई सानैदेखि प्रकृतिको महत्व सम्बन्धी जागरण फैलाउने उद्देश्यले राप्तीसोनारी नेचर रनलाई हरेक बर्ष निरन्तरता दिइने धारा नेपालगन्ज म्याराथनका रणनीतिक एवं अन्तर्राष्ट्रिय समन्वय प्रमुख तीर्थ ओलीले बताए । राप्तीसोनारीमा जन्मिएका ओली हाल जर्मनीमा एथ्लेटिक्स प्रशिक्षकका रुपमा कार्यरत छन् ।
विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)को पूर्णकालीन सदस्य नेपालगन्ज म्याराथनको भगिनी रेस इभेन्टका रुपमा नेपालगन्ज १० नाइट रन, गौघाट ग्रीन रन, काठमाडौं २५ के हेरिटेज रेस, कर्णाली हाफ म्याराथन लगायत रहेका छन् । देशको बिषम परिस्थितिका कारण यस वर्षको नाइट रन स्थगित गरियो भने गौघाट ग्रीन रनको दोस्रो संस्करण हालै सम्पन्न गरियो ।
वातावरण संरक्षणमा अभियान चलाइरहनु भएकी मिस नेपाल २०२३ श्रृच्छा प्रधान र कमनवेल्थ गेम्स २०१० का स्वर्णधारी केन्या निवासी जोन केलाई समेतको उपस्थितिमा गौघाट ग्रीन रन सम्पन्न भएको थियो । राप्तीसोनारी नेचर रनमा समेत यस्ता सेलिब्रिटीलाई जोड्दै लैजाने तयारी रहेको धारा नेपालगन्ज म्याराथनका कार्यक्रम संयोजक थापाले बताए । उनले नेपालगन्ज म्याराथन भने आगामी मंसिर ६ गते शनिवार नेपालगन्जमा आयोजना गरिनेछ ।
सत्यपाटी