नेपालको तीव्र राजनीतिक परिवर्तनको बीचमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र गृहमन्त्री ओमप्रकाश अर्यालबीच देखिएको तनावले नयाँ बहस छेडेको छ । केही समयअगाडि मेयर बालेन र उनका निकटवर्तीहरूले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन दबाब दिइरहेको चर्चा चलेको थियो ।
यद्यपि अहिले त्यो चर्चा केही सेलाएको देखिए पनि फेरि एकपटक गृहमन्त्री आर्याल र मेयर बालेन आमनेसामने भएका छन् । ओमप्रकाश अर्याल काठमाडौं महानगरका मेयर बालेन शाहका लामो समयका कानुनी सल्लाहकार थिए ।
जेनजी आन्दोलनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढालेपछि बनेको प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम मन्त्रिपरिषद्मा अर्याललाई गृह तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको थियो । यस नियुक्तिमा पनि बालेनको प्रभाव रहेको मानिन्छ । तर, अर्यालको मन्त्रीकालमा देखिएका केही निर्णयहरूले बालेनसँगको सम्बन्धमा चिसोपन ल्याएको छ ।
बालेन र अर्यालबीच केहि समयअघि नै सम्बन्धमा दरार आइसकेको थियो । उनीहरूबीच प्रत्यक्ष सम्वादको स्थिति थिएन । यस्तो अवस्थामा बालेनले काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डे वा पूर्वप्रहरी मिरा चौधरीलाई गृहमन्त्री बनाउन खोजेका थिए । तर, सम्भव नभएपछि प्रधानमन्त्री कार्कीले नै रोजेका अर्याल गृहमन्त्री बनेका हुन् ।
यसै क्रममा तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गराउने दबाब बालेनले दिएको तर काम हुन नसकेपछि गृहमन्त्री अर्यालको उपादेयता सकिएको ठान्दै बालेनले हटाउने प्रयास थालेका हुन् । ओली र लेखक मात्र नभई अन्य केही पात्रलाई पनि पक्राउ गर्नुपर्ने माग राख्दै आएका बालेनको दबाब सरकारको कानूनी धारा पल्टाउन पुग्दा उनी असन्तुष्ट बनेका छन् ।
यो विवाद केही समयअघि सामाजिक सञ्जालमा व्यापक थियो । सामाजिक सञ्जालमा गृहमन्त्री अर्याललाई हटाउन ट्रेन्ड नै चल्यो । बालेनको टिमले ट्रेन्डमार्फत उनलाई राजीनामा दिन बाध्य पार्ने वा प्रधानमन्त्री कार्कीलाई लगाएर हटाउने रणनीति अघि बढाएको थियो । तर ओली र लेखकलाई पक्राउ नगरेको निहुँ बनाउँदै अर्याललाई हटाउने प्रयास तीब्र भएपछि बालेनमाथि समेत तीव्र आलोचना भएको थियो ।
अभियन्ता ई.ले समेत बालेनले अर्याललाई हटाउने प्रयास गर्दा प्रधानमन्त्री कार्की नै संकटमा पर्न सक्ने दाबी गरेका थिए । यता, प्रधानमन्त्री कार्कीको निजी सचिवालयले गृहमन्त्री हटाउने विषय अस्वीकार गर्दै मन्त्रीको नियुक्ति वा हटाउने विषय संवैधानिक अधिकार भएको स्पष्ट पारेको थियो । तर, घटनाले बालेन शाहको बढ्दो प्रभाव र युवा नेतृत्वको केन्द्रीय राजनीतिमा हस्तक्षेपलाई उजागर गरेको छ ।
दुई प्रहरीबीच आमनेसामन्ने
गृहमन्त्री अर्याल र मेयर बालेनबीचको सम्बन्ध खटपटको चर्चा सेलाउन नपाउँदै दुई निकायका प्रहरी आमनेसामन्ने भएका छन् । हिजो (आइतबार) काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा अवैध रूपमा निर्माण भएका भौतिक संरचनामा डोजर चलाएको छ । महानगरले सम्पदा क्षेत्र खुला राख्ने र संरक्षण गर्ने उद्देश्यका लागि उक्त संरचनाहरू भत्काएको जनाएको छ ।
महानगर प्रहरी बिहानै डोजरसहित प्रभागमा पुगेको थियो । सम्पदा जग्गामा अवैध अतिक्रमण गरेर बिट खडा गरिएको भन्दै महानगरले संरचना हटाउने तयारी गरेको थियो । तर, अनाधिकृत ट्राफिक प्रहरी प्रभाग हटाउने तयारी भएको सुईको पाएपछि गृहमन्त्री आर्यालले डिएसपीको कमाण्डमा फोर्स खटाएका थिए । यसपछि नेपाल प्रहरी र नगरप्रहरीबीच झण्डै मुठभेडको स्थिति सिर्जना भयो ।
राम मन्दिर परिसरमा रहेको ट्राफिक कार्यालय भत्काउन महानगरले ठूलो संख्यामा नगरप्रहरी पठाएको थियो भने त्यसलाई रोक्न नेपाल प्रहरीको पनि बाक्लो उपस्थिति थियो । महानगरले ट्राफिक प्रहरी प्रभाग हटाउन कुनै समन्वय नगरेको प्रहरीले जनाएको छ । अन्ततः, विवादपछि ट्राफिक प्रहरी प्रभाग तत्काल भत्काउने काम रोकिएको छ ।
वडा नं ११ का वडा अध्यक्ष हिरालाल तण्डुकारले भने, ‘थापाथलीस्थित राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभाग अहिलेलाई नभत्काउन भनेको छु । प्रहरी कमाण्डरले अनुमति दिए भने मात्र कार्य अगाडि बढ्छ । अहिले प्रहरीलाई बस्न समेत समस्या भएको कारण तत्काल भत्काउन नदिएको हो ।’