जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चालु आर्थिक वर्ष २०८२–०८३ सुरु भएयता हालसम्म छ हजारभन्दा बढी सवारीसाधनलाई कारबाही गरेको छ । कारबाहीबाट ४९ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि कात्तिक महिनाको हालसम्म नियमविपरीत सञ्चालनमा रहेका ६ हजार ४२५ वटा विभिन्न सवारीसाधनलाई कारबाही गरिएको बताए । कारबाहीबाट ४९ लाख ४३ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
नागरिकप्रति ट्राफिक प्रहरी गम्भीर छ,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीले भने, ‘ट्राफिकको काम कारबाही र राजस्व सङ्कलन गर्ने मात्रै होइन्, हामीले जिल्लाका विभिन्न स्थानमा विभिन्न समयमा ट्राफिक सम्बन्धी सचेतना तथा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै नागरिकलाई सचेत बनाइरहेका छौँ ।’
उनका अनुसार चालु आवको हालसम्म बाँके जिल्लाका विभिन्न स्थानहरुमा ३५१ वटा साना ठूला सवारीसाधन दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी १५ जनाले ज्यान गुमाएका छन् भने ६४७ जना घाइते भएका छन् भने दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि जिल्लाका विभिन्न स्थानहरुमा ३१६ वटा जनचेतनामूलक कार्यक्रम गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
उक्त कार्यक्रमबाट ३० हजार ८७१ जना लाभान्वित भएको प्रहरी निरीक्षक शाहीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय बाँके र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले संयुक्तरुपमा सञ्चालन गरिरहेको ‘ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनउपर कारबाही अभियान अन्तर्गत नौ दिनमा ३८ वटा यात्रुवाहक इभी गाडी र १९ वटा मोटरसाइकललाई कारबाही गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक जीवराज थापा क्षेत्रीले कात्तिक ७ गतेदेखि कात्तिक १५ गतेसम्म नौ दिनको अवधिमा जिल्लाका विभिन्न स्थानबाट ट्राफिक नियम उल्लङ्घन गर्ने ३८ वटा यात्रुवाहक इभी गाडी र १९ वटा मोटरसाइकल कारबाही गरिएको जानकारी दिए ।
नम्बर प्लेट परिवर्तन तथा ध्वनि प्रदूषण गर्ने सवारीसाधन कारबाही अभियान अन्तर्गत नम्बर प्लेट परिवर्तन गरी यात्रु ओसारपसार कार्यमा संलग्न ३८ वटा इभी गाडी नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय नेपालगन्ज बाँके पठाइएको निमित्त सूचना अधिकारी क्षेत्रीले जानकारी दिए ।
उनले सवारीसाधनको स्वरुप परिवर्तन (मोडिफाइ) गरी ध्वनी प्रदूषण गरी सञ्चालनमा आएका विभिन्न १९ वटा मोटरसाइकललाई पनि नियन्त्रणमा लिइ पुनः पुरानै स्वरुपमा बनाउने गरी ट्राफिक जरिवाना गरी छाडिएको बताए ।
स्वरूप परिवर्तन गरिएका र ध्वनि प्रदूषण गर्ने मोटरसाइकललाई नियन्त्रणमा लिने तथा मोटरसाइकलमा होहल्ला गर्दै हिँड्ने, ध्वनि प्रदूषण गर्ने र स्वरूप परिवर्तन गरेर चर्को आवाज निकाल्ने मोटरसाइकलविरुद्ध जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी चौकी र ट्राफिक प्रहरी कार्यालयले संयुक्तरुपमा अभियान सञ्चालन गरिरहेका छन् ।