२०८२ कात्तिक ३० , आइतबार 16, November 2025, Sunday

बाँके र बर्दियामा ८० प्रतिशत धान भित्र्याइयो

सत्यपाटी
सत्यपाटी । बाँके । २०८२ कात्तिक १७ गते सोमबार

बाँके र बर्दिया जिल्लाका किसानले हालसम्म ८० प्रतिशतभन्दा बढी धान बाली काटेर भित्र्याइसकेका छन् । कृषि ज्ञान केन्द्र बाँकेका कृषि प्रसार अधिकृत खड्क बस्नेतले जिल्लाका आठ वटै पालिकामा किसानले ८० प्रतिशतभन्दा बढी धान बाली काटेर धान भित्र्याइसकेको बताए । उनले जिल्लाका किसानले मोटो धान करिब करिब शतप्रतिशत भित्र्याइसकेको जनाए ।

मध्यम र मसिनो धान पनि ८० प्रतिशत जति भित्र्याइसकेको र २० प्रतिशत मात्र भित्र्याउन बाँकी रहेको कृषि प्रसार अधिकृत बस्नेतले जानकारी दिए । नरैनापुर गाउँपालिकाका कृषि शाखा प्रमुख सदन भण्डारीले पालिकामा ८० प्रतिशतभन्दा बढी धान भित्र्याइसकेको र वर्षा पनि धेरै नभएकाले क्षति नभएको बताए ।

राप्तीसोनारी गाउँपालिकाका कृषि शाखाका प्राविधिक सहायक चन्द्राकुमारी शाहीले पनि वर्षाले गर्दा धेरै क्षति भएको जानकारी नआएको बताइन् । डुडुवा गाउँपालिकाका कृषि प्राविधिक सहायक हनुमान यादवले पनि ८० प्रतिशत धान भित्र्याइसकेको र होचो जमिनमा लगाइएको मसिनो जातको धान पाक्न बाँकी रहेकाले क्षति हुन नपाएको बताए ।

किसान धान काटेर भित्र्याउन व्यस्त रहेका बेला दुई–तीन दिन मौसम खराब भएर वर्षासमेत भएकाले धान बाली काट्ने कार्य प्रभावित भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । तर जिल्लामा वर्षा सामान्य भएको र अधिकांश धान किसानले भित्र्याइसकेको हुँदा यसपटक धानबालीमा बर्षाले क्षति नभएको आठ वटै पालिकाबाट जानकारी आएको केन्द्रले जनाएको छ ।

सो कार्यालयका अनुसार जिल्लामा यस वर्ष भएको धान उत्पादनबारे आठवटै पालिकाका कृषि शाखाहरुबाट तथ्यांक मागिएको छ । सो तथ्यांक प्राप्त भएपछि सार्वजनिक गरिनेछ । यता बर्दियामा पनि ८० देखि ८५ प्रतिशतभन्दा बढी धान बाली भित्र्याइसकिएको र वर्षाले धान बालीमा ठुलो क्षति गरेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाले जनाएको छ ।

कार्यालयका प्रमुख कमला अधिकारीले स्थानीय तहबाट जानकारी लिने काम भइरहेको जनाउँदै धेरै क्षति भएको जानकारी कुनै पालिकाबाट आएमा मात्रै क्षतिको विवरण सङ्कलन गरिने बताइन् । बंगालको खाडीमा विकसित मोन्था चक्रवात र पश्चिमी वायुको प्रभावका कारण बाँके र बर्दियामा गत दुईतीन दिन सामान्य वर्ष भएको थियो ।

प्रकाशित मिति : २०८२ कात्तिक १७ गते सोमबार