२०८३ मंसिर २ , बुधबार 19, November 2026, Thursday

हर्क साम्पाङले पाए दल दर्ताको प्रमाणपत्र, चुनाव चिह्न माटोको ढिस्को

धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आधिकारिकता पाएको छ । सो पार्टीका अध्यक्ष हर्क साम्पाङ आज निर्वाचन आयोग पुगेर दल दर्ताको प्रमाणपत्र लिएका छन् । साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको चुनाव चिह्न माटोको ढिस्को राखिएको छ ।

सो पार्टीमा २८ जना केन्द्रीय सदस्य र पाँच जना पदाधिकारी छन् । उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई, कोषाध्यक्ष समिता राई रहेका छन् । प्रवक्तामा अरुण गुरुङ रहेका छन् । गत असोज १२ गते आइतबार साम्पाङ आफैँ निर्वाचन आयोग उपस्थित भएर दल दर्ताको निवेदन दिएका थिए ।

पार्टीले मान्यता प्राप्त भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मेयर साम्पाङले आफ्नो पार्टी श्रम, उत्पादन र सामाजिक रुपान्तरणको एजेण्डा लिएर अघि बढ्ने बताए । उनले भने, ‘हाम्रो एजेण्डा काम गर्ने हो । जुन काम आजसम्म यो देशमा भएन, त्यही काम गर्ने हो । उत्पादन, निर्माण र सामाजिक रुपान्तरणका लागि हामी फिल्डमा निस्केर काम गर्छौं ।’

साम्पाङका अनुसार श्रम संस्कृति पार्टी अफिसमा बसेर भाषणमा सीमित नहुने र प्रत्यक्ष फिल्डमा गएर श्रमद्वारा परिवर्तन ल्याउने संगठन हुनेछ । ‘म यो देशको एक्लो अभियन्ता थिएँ, अब हामी सबै मिलेर देश उठाउनुपर्छ,’ उनले भने, ‘पहिले म धरानमा मात्र श्रमदान गर्थें, अब देशभर श्रमदान गर्न पाउने भएकोमा अत्यन्त खुसी छु ।’

प्रकाशित मिति : २०८२ कात्तिक १६ गते आइतबार