२०८३ असोज २९ , बिहीबार 15, October 2026, Thursday

वरीयता टुंग्याउँदै माधव-प्रचण्ड, झलनाथ समुह भने छुट्टै तयारीमा

नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज (कात्तिक १६) भेटवार्ता हुँदैछ ।

यी दुई पार्टीबीच एकता गर्ने पक्का भएपछि वरीयता लगायत विषयमा उनीहरूले छलफल गर्न लागेका माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । उनले भने, ‘सम्भवतः पेरिसडाँडामा नै छलफल हुनेछ ।’

प्रवक्ता असापकोटाले दुवै नेताबीच वरीयता लगायत विषयमा छलफल हुने बताए । एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकबाट माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरिएको थियो । त्योसँगै दल दर्ता, संगठनात्मक विषय टुंगो लगाउन दुवै नेता कस्सिएका हुन् । एकताको गृहकार्य नपुगेको भन्दै दुवै पार्टीका केही नेता भने चिढिएका छन् ।

यता माओवादी केन्द्रसँग तत्काल पार्टी एकता गर्न नहुने पक्षमा रहेका एकीकृत समाजवादीका नेताहरू राष्ट्रिय भेलाको तयारीमा जुटेका छन् । शनिबार सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा भएको सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहितका नेताहरूले राष्ट्रिय भेला गर्ने निर्णय गरेका हुन् ।

‘अब राष्ट्रिय भेलाको तयारीमा छौँ । हिजो नै भेला राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेका थियौँ । दुई साताभित्र नै भेला हुनेछ,’ नेता दामोदर अर्यालले भने । पार्टीको शुक्रबारको केन्द्रीय बैठकबाट अध्यक्ष माधवकुमार नेपालले माओवादीसँग एकता गर्ने निर्णय गराएपछि असन्तुष्ट पक्षले शनिबार छुट्टै भेला गरेको थियो ।

बैठकले पार्टी पुनर्गठन गर्ने, बृहत् वाम एकता गर्ने निर्णय गरेको छ । पार्टी पुनर्गठनको पक्षधरहरूसँगको वार्ताका संयोजन गर्ने जिम्मा घनश्याम भुसाललाई दिइएको छ । पार्टी पुनःगठन, रूपान्तरण र वामपन्थी ध्रुवीकरणलाई तीव्र गतिमा अघि बढाउने निष्कर्षमा पुगिएको नेता जीवनराम श्रेष्ठ बताउँछन् ।

नेकपा एमाले, माओवादी केन्द्र लगायतसँग ध्रुवीकरणका लागि शीर्ष नेताहरूले छाड्नुपर्ने सर्त उनीहरूको छ । माओवादी केन्द्रसँगको एकताले हालको माग पूरा गर्न नसकिने उनीहरूको निष्कर्ष छ । ‘अहिलेको जुन एकता हो, त्यसले नेपाली समाजको आवश्यकता, जेनजीको माग पूरा गर्न सक्दैन । एकीकृत समाजवादीलाई नै सशक्त गरेर लैजाऊँ भन्ने कुरा हो,’ उनले भने ।

एकता प्रक्रियामा जाने भए माओवादी महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टी अध्यक्ष माधवकुमार नेपालले पद छाड्नुपर्ने सर्त असन्तुष्ट पक्षको छ । त्यसो भए मात्र पुनर्गठन हुन सक्ने निष्कर्षमा असन्तुष्ट नेता पुगेका छन् ।

‘माधव नेपालले छोड्छु भन्नुभएको छ, उहाँले मात्रै छोडेर हुँदैन । प्रचण्डले पनि छोड्नुपर्छ । त्यसपछि अघि बढ्न सकिन्छ,’ श्रेष्ठ भन्छन् । उता, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व छाडेमात्र एक हुने सर्त पनि यी नेताहरूको छ । अहिले एमालेका केही नेताहरूसँग वार्ता भइरहेको असन्तुष्ट पक्षका एक नेताले बताए ।

प्रकाशित मिति : २०८२ कात्तिक १६ गते आइतबार