२०८३ भदौ २६ , शुक्रबार 11, September 2026, Friday

हुम्लाको लाप्चामा सञ्चार सुविधाविहीन, पर्यटक र स्थानीयलाई सास्ती

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको पर्यटकीय गन्तव्य लाप्चामा सञ्चार सुविधा नहुँदा कठिनाइ भएको छ । सञ्चार सुविधा नहुँदा यहाँ घुम्न आउने पर्यटकलाई समस्या भएको छ । लाप्चाबाट चीनमा पवित्र तीर्थस्थल मानसरोवर कैलाश पर्वतको सहजै दर्शन गर्न सकिन्छ ।

लिमी उपत्यकाका तीन गाउँ हल्जी, तीलर जाङमा फोनको सुविधा भए पनि लाप्चामा सञ्चार सुविधा छैन । लाप्चामा फोरजी इन्टरनेट सेवा सञ्चालनमा ल्याउन सके सबैलाई सहज हुने वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए ।

नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाश दर्शन गरेपछि बास बस्ने स्थान टाक्चीमा कुनै पनि सञ्चार सुविधा छैन । लिमीमा फोरजी टावर जडानका लागि गाउँपालिकाले अग्रसरता लिए पनि सम्भव नभएको गाउँपालिकाका अध्यक्ष प्रेम लामाको भनाइ छ ।

नेपाली भूमि लाप्चाबाट वर्षमा छ महिना मानसरोवर कैलाशको दर्शन गर्न मिल्छ । हिउँद याममा हिमपातले छ महिना न्यालु, नारा लेख अवरुद्ध हुने हुँदा वैशाखदेखि कात्तिकसम्म मात्रै यहाँबाट दर्शन गर्न सकिन्छ ।

प्रकाशित मिति : २०८२ कात्तिक १६ गते आइतबार