२०८२ कात्तिक ३० , आइतबार 16, November 2025, Sunday

चाडपर्व सकिएसँगै नेपाली युवाहरु रोजगारी खोज्दै भारततिर

सत्यपाटी
सत्यपाटी । बाँके । २०८२ कात्तिक १६ गते आइतबार

दशैँतिहार र छठ मनाउन स्वदेश आएका पश्चिम नेपालका पहाडी जिल्लाका नेपाली युवाहरु रोजगारीका लागि फेरि भारत फर्किन थालेका छन् । चाडपर्व सकिएपछि फेरि एकपटक नेपाली युवाहरु रोजगारीका लागि भारतका विभिन्न ठुला सहरहरुतर्फ जान थालेका हुन् ।

कर्णाली र लुम्बिनी प्रदेशका पहाडी जिल्लाका सयौं युवा दैनिक रोजगारीका लागि भारततर्फ गइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय, जमुनाहाका अनुसार चाडपर्व सकिएपछि फेरि दैनिक भारत जाने नेपालीको सङ्ख्या बढ्दै गएको छ ।

अहिले दैनिक हजारदेखि दुई हजारको हाराहारीमा नेपाली युवा कामका लागि भारततर्फ गइरहेको सो कार्यालयले जनाएको छ । अहिले सबैभन्दा बढि पन्जाब, सिमला, अहमदाबाद, हरियाणा गुजरात लगायतका स्थानहरुमा गइरहेको पाइएको छ ।

रोजगारीका लागि भारत जानेहरुमा अधिकांश २० देखि ३५ वर्षको सेरोफेरोकै युवा छन् । उनीहरुले चाडपर्वका लागि मात्रै स्वदेश फर्किनुपर्ने बाध्यता रहेको बताएका छन् । जाजरकोटका नरेशबहादुर सिंहले स्वदेशमा राम्रो काम नपाइएपछि बाध्य भएर भारत जान थालेको बताए ।

उनले दशैँतिहार जस्ता चाडपर्व नआउने हो भने आफ्नो गाउँघर र आफन्त नै भेट्न नपाइने दुखेसो सुनाए । कामकै लागि भारत जान लागका सल्यानका रमेश विकले चाडपर्व सकिएपछि अब पेटको जोहो गर्न मुगलान जान थालेको जनाउँदै अर्को वर्षको दशैँमा फर्किने बताए ।

सिंह र विक त प्रतिनिधि पात्र मात्रै हुन् । रोजगारीका लागि भारत छिर्न नाकामा पुगेका अधिकांश युवाले देशमा रोजगारीका अवसरहरु नभएको गुनासो गर्दै अर्काको देशमा दुःख गर्न जानु परेको बताएका छन् । इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार आगामी केही महिनासम्म रोजगारीका लागि भारत जाने नेपाली युवाको सङ्ख्या झनझन बढ्दै जानेछ ।

प्रकाशित मिति : २०८२ कात्तिक १६ गते आइतबार