सूर्योदय, सूर्यास्त र गुर्जा, धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरी लगायतका हिमशृङ्खलाको दृश्यावलोकनका लागि म्याग्दीको पुनहिल पछिल्लो समय लोकप्रिय गन्तव्य बनेको छ । अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीस्थित पुनहिलमा असोज, कात्तिक, फागुन, चैत र वैशाख महिना भ्रमणका लागि उपयुक्त मानिन्छ । पर्यटक प्रहरी चौकी घोडेपानीका अनुसार यहाँ वार्षिक करिब ३० हजार पर्यटक आउने गरेका छन् ।
व्यवसायी सुदीप पुर्जा पुनका अनुसार यस वर्ष मौसम र राजनीतिक कारणले अपेक्षाकृत कम पर्यटक आएका छन् । विगतका वर्षमा शरद ऋतुमा दैनिक करिब ४०० पर्यटक पुग्ने गरेका थिए । घोडेपानीमा बास बसेका पर्यटकहरू बिहान करिब ४० मिनेट पैदल उकालो चढी पुनहिल पुगेर सूर्योदय र हिमशृङ्खलाको अवलोकन गर्ने गर्छन् । हाल घोडेपानीमा दैनिक एक हजार जनाभन्दा बढी बास बस्न सक्ने २३ वटा होटल सञ्चालनमा छन् ।
यहाँ कास्कीको घान्द्रुक, म्याग्दीको भुरुङ तातोपानी र मोहरेडाँडा हुँदै घोडेपानी–पुनहिल पुग्न सकिन्छ । साथै, वीरेठाँटी–उलेरी–घोडेपानी, नयाँपुल–घान्द्रुक–घोडेपानी, नागी–महरे–फूलबारी–घोडेपानी र तातोपानी–घार–शिख हुँदै पनि पदमार्ग सञ्चालनमा छन् । अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काका अनुसार पोखरेबगरदेखि घोडेपानी जोड्ने सडकको स्तरोन्नति भइरहेको छ । ‘ठेक्काबाट हुने आम्दानीको केही हिस्सा पुनहिल क्षेत्रको पर्यटन पूर्वाधार विकासमा लगाउँदै आएका छौँ,’ उनले बताए ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२–०८३ मा पुनहिल क्षेत्रबाट करिब रु ४६ लाख आम्दानी गरेको छ । प्रवेश शुल्क र चिया पसल सञ्चालनका लागि रु ४५ लाख ९० हजारमा ठेक्का सम्झौता गरिएको गाउँपालिकाका सूचना अधिकारी भगवती खड्काले जानकारी दिए । गत वर्ष रु ४० लाख आम्दानी भएको थियो । समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिल भ्रमणका लागि विदेशी पर्यटकबाट प्रतिव्यक्ति रु १५० र स्वदेशीबाट रु ५० शुल्क लिइँदै आएको गाउँपालिकाले जनाएको छ ।
सत्यपाटी