२०८३ जेठ ४ , सोमबार 18, May 2026, Monday

बालुवाटारमा आज सातै प्रदेशका मुख्यमन्त्रीको जमघट

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ कात्तिक १६ गते आइतबार

प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार मुख्यमन्त्रीहरुसहितको बैठक आज (आइतबार) दिउँसो ४ बजे बालुवाटारमा बस्नेछ ।

बैठकमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेसका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थिति रहनेछ ।

प्रधानमन्त्री कार्कीले परिवर्तित राजनीतिक परिस्थितिमा संघीय र प्रदेश सरकारबीचको सहकार्य सुदृढ गर्न, आगामी निर्वाचन तयारी र नीति कार्यान्वयनका विषयमा समन्वय बढाउनका लागि बैठक आह्वान गरेकी छन् । सरकारका उच्च अधिकारीहरूका अनुसार बैठकमा संघीय र प्रदेश सरकारबीचको कामकारबाहीलाई प्रभावकारी बनाउने, स्रोतसाधनको उपयोग र निर्वाचनमा प्रदेश सरकारको भूमिकाबारे पनि विस्तृत छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक १६ गते आइतबार