२०८३ जेठ ४ , सोमबार 18, May 2026, Monday

पार्टी एकताको निर्णले राजनीतिक दल विभाजनको संघारमा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ कात्तिक १५ गते शनिबार

नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेपछि नेकपा एकीकृत समाजवादी विभाजनको संघारमा पुगेको छ । एकीकृत समाजवादीको केन्द्रीय समितिको बहुमतले निर्णय लिएपछि अर्को पक्षले त्यसैलाई पुर्नगठन गरेर जाने निर्णय गरेको हो । समाजवादीसँगको एकीकरणको विषयलाई लिएर माओवादी केन्द्रभित्र समेत विवाद बढेको छ ।

जसले कम्युनिष्ट एकताको कुरा गरिरहने र केही मानिस जोडिने स्थिति त बनेको देखिन्छ । तर यहि विषय दल विभाजको कारण पनि बनेको छ । पछिल्लो एकीकरणले माओवादी केन्द्र, एकीकृत समाजवादीदेखि नेत्रविक्रम चन्द नेतृत्वको नेकपासम्म हलचल ल्याउने देखिएको छ । माओेवादी केन्द्रले एकीकृत समाजवादी लगायतका विचार मिल्ने दलहरुसँग एकताको प्रयास अगाडि बढाउने भनेर छलफल थालेको लामो समय भयो ।

तर उसले सोचेजस्तो गरि परिस्थिति सिर्जना भएन, एकीकृत समाजवादी तयार भयो तर विभाजन हुने स्थीति बन्यो । उता चन्द नेतृत्वको नेकपा समेत विवाद नै हुने स्थितिमा पुग्यो । यसले माओवादीसँग जोडिने आउने शक्तिहरुमा समस्या देखा पर्याे । त्यो उसँग जोडिन आउने दलसँग मात्रै होइन, माओवादी केन्द्रभित्र पनि देखिएको छ । नेता जर्नादन शर्माले त खुलेरै यसको विरोध नै गरेका छन् ।

उनको भनाइ छ अहिले चालिएको कदम उपयुक्त छैन । माओवादी केन्द्रसँग एकतामा जाने निर्णय गर्दै एकीकृत समाजवादीभित्र ठूलो विरोध र विभाजनको स्थीति बन्यो । पाटीको केन्द्रीय कमिटिले बहुमतका आधारमा निर्णय त गर्यो तर त्यसभित्र प्रभाव राख्नेका सम्मानित नेता झलनाथ खनाल र नेतृ रामकुमारी झार्कीसहितका नेताहरु एकताको विरोधमा उभिएका छन् ।

केन्द्रीय समितिको बैठकमा विरोधमा उभिएको यो समुहले छुट्टै भेला गरेर एकीकृत समाजवादीलाई नै पुनःगठन गरेर जाने तयारी गरेको छ । उसले त्यो छलफल अगाडि नै बढाइसकेको छ । यता केन्द्रीय कमिटीको निर्णय पछिको बाँकी कामका जिम्मेवारी सचिवालयलाई दिइएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपाल पक्षका नेता प्रकाश ज्वालाले भने माओवादीसँग एकता गर्नुपर्नेमा जोड दिएका हुन् ।

यसरी माओवादी केन्द्रसहितका केही घटकहरुको एकीकरणका लागि छलफल त चलेको छ । तर त्यो एकीकरणमा जोडिने दलहरु भने विभाजनमा जाने निश्चित भएको छ । एकीकृत समाजवादी मात्रै होइन माओवादीसँग जोडिनकै लागि चन्द्र नेतृत्वको एउटा पक्ष विभाजित भइसकेको छ । त्यो समूह पनि माओवादी केन्द्रसँग एकीकरणमा जाने तयारी मै छ । यसरी एकीकरणमा आउने र माओवादी स्वयमभित्र पनि यो प्रक्रियाले ठूलै हलचल ल्याउने वातावरण निर्माण गरेको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक १५ गते शनिबार