२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

बाँकेमा धान खरिदमा ढिलाई, किसान सस्तोमा बिक्री गर्न बाध्य

सरकारले यस वर्ष समयमै धानको समर्थन मूल्य निर्धारण गरे पनि बाँकेमा धान खरिदमा ढिलाई भएकोे तथा समर्थन मूल्यमा व्यापारीले धान खरिद नगर्दा किसानले सस्तोमै धान बिक्री गरिरहेका छन् । सरकारले आर्थिक वर्ष २०८२–०८३ का लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ रुपैयाँ ८१ पैसा तोकेको छ भने मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार ६२८ रुपैयाँ ३३ पैसा तोकेको छ ।

तर कम्पनीले बाँकेमा अझैसम्म धान खरिद सुरु नगरेको हुँदा किसानले बजारमा व्यापारीलाई बाध्य भएर प्रतिक्विन्टल करिब ९०० रुपैयाँ कम मूल्यमा धान बिक्री गरिरहेको जनाएका छन् । कम्दी बाँकेका किसान राजन मौर्यले सरकारले समर्थन मूल्य तोकेपनि सो मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हालसम्म खरिद सुरु नगरेको र व्यापारीले नौ सय रुपियाँ कममा खरिद गरिरहेकाले आफुहरु समस्यामा परेको बताए ।

उनले सरकारले तत्काल सबै किसानको धान समर्थन मूल्य अनुसार खरिद गर्नुपर्ने र व्यापारीलाई पनि सोही मुल्यमा खरिद गर्न कडाई गर्नु पर्ने माग गरे । व्यापारीले समर्थन मूल्यभन्दा निकै कममा धान खरिद गरे पनि कुनै प्रकारको अनुगमन वा निरीक्षण नभएको किसानहरुको गुनासो छ । धान खरिदमा ढिलाई गरिँदा सरकारले तोकेको मूल्य नपाएपछि आफुहरुले बाध्य भएर ९०० रुपैयाँ कम मूल्यमा बजारमा धान बिक्री गर्नुपरेको बाँके नौबस्ताका किसान शंकर थारुले दुखेसो गरे ।

बाँके बनकटवाका किसान दिपेन्द्र चौधरीले धान खरिदमा ढिलाई गरिएकाले किसानलाई ठुलो समस्या भएको बताए । उता, बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी पूर्ण खत्रीले सरकारले तोकेको भन्दा बढि मूल्यमा धान खरिद गर्ने कार्य व्यापारीले गरिरहेको गुनासो सुनिएको जनाउँदै सो बारेमा अनुगमन सुरु गरिने बताए । यसैबिच, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्जस्थित कार्यालयलले यस वर्ष २० हजार क्विन्टल धान खरिद गर्ने जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख रामशरण लामिछानेले कार्यालयले मोटा धान १५ हजार क्विन्टल र पाँच हजार क्विन्टल मध्यम धान खरिद गर्ने गरी कोटा निर्धारण भएर बिहीबार मात्रै आएको जानकारी दिए । उनले गत वर्ष नेपालगन्जमा मध्यम धान २५ हजार क्विन्टल र मोटा धान सात हजार क्विन्टल गरेर ३२ हजार क्विन्टल धान खरिद गरेको सो कार्यालयले यस वर्ष २० हजार क्विन्टल मात्र धान खरिदको कोटा आएको बताए ।

प्रकाशित मिति : २०८२ कात्तिक १५ गते शनिबार