२०८२ कात्तिक ३० , आइतबार 17, November 2025, Monday

झलनाथले नयाँ पार्टी खोल्ने कि एमालेमा जाने ?

सत्यपाटी
सत्यपाटी । काठमाडौं । २०८२ कात्तिक १५ गते शनिबार

नेकपा एकीकृत समाजवादीले नेकपा (माओवादी केन्द्र)सँग एकता गर्ने औपचारिक निर्णय गरेपछि पार्टी गहिरो संकटमा परेको छ । शुक्रबार केन्द्रीय समितिले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरे पनि, एकतालाई टुंगोमा पुर्याउने जिम्मा केन्द्रीय सचिवालयलाई दिएको छ ।

तर यो निर्णयसँगै पार्टी विभाजनमुखी पनि बनेको छ । पार्टीका सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसाल, उपमहासचिव विजय पौडेल, नेतृ रामकुमारी झाँक्री लगायत एक दर्जन नेताहरू एकताको विपक्षमा उभिएका छन् ।

उनीहरूले केन्द्रीय समितिको बैठकको निर्णय अमान्य भएको बताएका छन् । माओवादीसँगको एकतालाई लिएर विवाद भइरहेका असन्तुष्ट नेताहरूले नयाँ पार्टी खोल्ने कि पूर्व पार्टी एमालेमा फर्किने भन्ने विषयमा अहिलेसम्म निर्णय गरेका छैनन् ।

तर पार्टीको निर्णयपछि उनीहरूले एमालेसँग संवाद सुरु गरेका छन्।शुक्रबार राति नै एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका असन्तुष्ट नेताहरूलाई लक्षित गर्दै घर फर्कन आह्वान गरे । यता असन्तुष्ट पक्षका नेताहरूले पनि आफूहरू एमाले नेताहरूसँग संवादमा रहेको जनाएकन छन् ।

केन्द्रीय समिति बैठकमा एकताबारे हतारमा निर्णय गर्न नहुने मत प्रबल रूपमा आएपछि अध्यक्ष माधवकुमार नेपालले अन्तिम निर्णय गर्ने जिम्मा केन्द्रीय सचिवालयलाई दिएका छन् । माओवादीसँग हतारमा एकता गर्न खोज्नु अध्यक्ष नेपालको व्यक्तिगत राजनीतिक सुरक्षासँग जोडिएको विषय भएको असन्तुष्ट पक्षका एक नेताको भनाइ छ ।

काभ्रेको पतञ्जलि जग्गा हिनामिना प्रकरणमा मुद्दा दायर भएपछि अध्यक्ष नेपालले माओवादी केन्द्रसँग हतारमा एकता गर्न खोजेको ती नेताको दाबी छ । उपाध्यक्ष एवं प्रवक्ता प्रकाश ज्वालाका अनुसार माओवादी केन्द्र लगायत अन्य वाम दलहरूसँग पार्टी एकता गर्ने नीतिगत निर्णय गरिएको हो ।

अध्यक्ष नेपालले माओवादीसँग एकतालाई प्राथमिकतामा राख्दै तयार गरेको राजनीतिक प्रतिवेदन खुला बहसपछि सर्वसम्मत रूपमा पारित भएको पनि ज्वालाले बताए । अध्यक्ष नेपाल पक्षले पार्टीको उच्चतम निकाय केन्द्रीय समितिले एकताको निर्णय गरिसकेकाले अब यो प्रक्रिया नरोकिने दाबी गरेको छ ।

एकता पक्षीय एक नेताका अनुसार माओवादी केन्द्र, महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाबाट फुटेका चरन पुन र प्रेमबहादुर सिंह समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी, र सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपालबीच पनि एकता गर्ने गृहकार्य भइरहेको छ ।

केन्द्रीय समितिमा बोल्ने १५१ मध्ये अधिकांश सदस्यले माओवादीसहित वामपन्थी शक्तिहरूसँग एकता गर्नुपर्ने धारणा राखेका थिए । उनीहरूले सैद्धान्तिक र वैचारिक आधारमा ठोस सहमति गरेर मात्र एकता गर्नुपर्ने सुझाव दिएका थिए ।

पुनःगठन, नयाँ पार्टी कि एमालेमा प्रवेश

नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र नेतृ रामकुमारी झाँक्रीसहित नेताहरू एकताको विपक्षमा छन् । उनीहरूले पार्टीलाई पुनर्गठन गरेर अघि बढ्ने बताएका छन् । पार्टी एकताको प्रस्तावमा असहमति जनाउँदै झाँक्रीले समाजवादी पार्टीलाई पुनर्गठन गर्ने बताइन् ।

एकताको विपक्षमा उभिएका एक नेताका अनुसार पार्टी पुनर्गठन गरी नयाँ संरचना निर्माण गर्ने गृहकार्य सुरु भइसकेको छ । पार्टीका असन्तुष्ट नेता खनालले या त यही पार्टी पुनर्गठन गर्ने नभए नयाँ बनाउने बताए । खनालले आरोप लगाए, ‘एमालेबाट विद्रोह गरेर बनाइएको पार्टीलाई अध्यक्ष नेपालले माओवादीमा लैजाँदै विसर्जन गर्ने निर्णय गरे ।’

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै खनालले भने, ‘एमालेसँगको विद्रोहको औचित्य पुष्टि नगरी पार्टीलाई माओवादीमा लैजाने जबर्जस्ती निर्णय गरियो। पार्टीलाई विसर्जन गरियो। अब हामी क्रान्तिकारी चेतना र जागरणसहितको नयाँ पार्टी बनाउनेछौं ।’

एमाले अध्यक्ष ओलीको पुरानै घर फर्कन आह्वानबारे खनालले भने, ‘यो आह्वानलाई हामी सकारात्मक रूपमा लिनएका छौं तर तत्कालै एमालेमा गइहाल्ने होइन ।’ तर उनले एमालेमा प्रवेश गर्नका लागि पार्टीको नीति र सिद्धान्तमा सहमति हुनुपर्ने स्पष्ट पारे ।

प्रकाशित मिति : २०८२ कात्तिक १५ गते शनिबार