२०८३ असार ३ , बुधबार 18, June 2026, Thursday

सरोजको शव पुलमुनि, जलेको कार जंगलमा भेटियो

सत्यपाटीसत्यपाटी । झापा । २०८२ कात्तिक १५ गते शनिबार

कात्तिक ९ गतेदेखि बेपत्ता भएका झापाका एक युवकको शव फेला परेको छ । शिवसताक्षी नगरपालिका १० का ३३ वर्षीय सरोज शर्माको शव शनिबार हत्या गरेर गाडेको अवस्थामा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहान झापा गाउँपालिका ५ को बिरिङ खोलाको पुलमुनि शर्माको शव भेटिएको हो ।

प्रहरीले गाडेको ठाउँबाट शव उत्खनन् गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार शर्मा साथीलाई भेट्न भन्दै ९ कात्तिकको दिउँसो साढे ३ बजे घरबाट कार लिएर हिँडेका थिए । उनी चढेको बागमती प्रदेश ०१–०३०च ७१९४ नम्बरको कार दुई दिनअघि बिहीबार मेचीनगर १३ स्थित हातेमालो सामुदायिक वनभित्र जलेको अवस्थामा भेटिएको थियो ।

‘कार भेटिएको स्थानदेखि शव फेला परेको ठाउँ करिब २०–२२ किलोमिटर टाढा पर्छ,’ खड्काले भने । पुलमुनि हत्या गरेर शव गाडिएको र माथिबाट टिनले छोपिएको थियो । ‘घटनाको प्रकृति हेर्दा तीन–चार दिनअघि नै हत्या भएको देखिन्छ,’ खड्का भन्छन् । प्रहरीले घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । खड्काले अन्य व्यक्तिको पनि संलग्नता हुनसक्ने भन्दै अनुसन्धान तीव्र पारिएको बताए ।

‘पक्राउ परेकामध्ये एक जनाको हात डढेको अवस्थामा भेटिएको छ, जसको गाडी जलाउने क्रममा चोट लागेको हुन सक्छ,’ उनी भन्छन् । शर्मा काठमाडौं बसेर आइटी क्षेत्रमा काम गर्दै आएका थिए । दसैं–तिहार मनाउन घर गएका उनी छठपछि काठमाडौं फर्किने तयारीमा थिए । शर्मा बेपत्ता भएपछि आफन्तले १० कात्तिकमा प्रहरीमा खबर गरेका थिए । शव परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको खड्काले बताए ।

प्रकाशित मिति : २०८२ कात्तिक १५ गते शनिबार