घनाबस्तीकोे बीचमा रहेको नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक डिपो तत्काल स्थानान्तरणको माग गर्दै स्थानीयले दबाबमूलक कार्यक्रम आयोजनाको तयारी गरेका छन् । धनगढी उपमहानगरपालिका–३, चटकपुरस्थित डिपो स्थानान्तरणका लागि दुई वर्षदेखि काम भइरहेको भनिए पनि हालसम्म कुनै परिणाम नदेखिएपछि स्थानीयले आन्दोलनको तयारी थालेका हुन् ।
टोल विकास संस्थाको अगुवाइमा डिपो स्थानान्तरणको प्रक्रिया तत्काल अघि बढाउन उनीहरुले अर्को सातादेखि चरणबद्ध रुपमा दबाब दिने तयारी गरेका छन् । केही दिनअघि उनीहरुले वडाध्यक्षको पहलमा स्थानीयको सरोकार सम्बोधन गर्न डिपो प्रमुखको ध्यानाकर्षणसमेत गराएका थिए ।
डिपोसँगै जोडिएको शुभकामना टोल विकास संस्थाका अध्यक्ष दीर्घराज ओझा घनाबस्तीबीचमा रहेको डिपोका कारण सुरक्षा संवेदनशीलता बढेको उल्लेख गर्दै तत्काल डिपो सार्न निगम व्यवस्थापन गम्भीर हुनुपर्ने बताउँछन् । शुभकामना टोलमा ८७ घरधुरी छन् । ती घरमा चार सयभन्दा बढी मानिसको बसोबास छ ।
‘दुई वर्षअघि देखि डिपो स्थानान्तरणको प्रक्रिया अघि बढेको भनिएको छ, तर अहिलेसम्म परिणाम आएको छैन,’ अध्यक्ष ओझाले भने, ‘तत्काल डिपो स्थानान्तरण गरेर स्थानीयलाई ढुक्कसँग बसोबास र पेसा व्यवसाय गर्न सक्ने अवस्था बनाउन आन्दोलनका कार्यक्रम अघि बढाउँदै छौँ ।’ चटकपुरका धर्मसिंह–माधवी ऐर दम्पत्तिलाई अहिले रातमा राम्रोसँग निद्रा पर्दैन ।
घरैअगाडि रहेको निगमको डिपोमा जुनसुकै बेला भवितव्य हुनसक्ने र त्यसबाट ठूलो मानवीय र भौतिक क्षति बेहोर्नुपर्ने चिन्तामै बाँचिरहनुपरेको उनीहरु सुनाउँछन् । डिपोका कारण सधैँ त्रसित अवस्थामा रहनुपरेको गुनासो गर्दै स्थानीय धर्मसिंह डिपो स्थानान्तरणका लागि पटकपटक सरोकारवालालाई आग्रह गरिए पनि कुनै सुनुवाइ नभएको बताउछन् ।
पेट्रोलियम पदार्थ भण्डारण गरिएका ठुल्ठूला ट्याङ्क नजिकै भएको र डिपोबाट इन्धन लोड अनलोड भइरहँदा घरमा आगो बाल्न पनि डराउनुपर्ने अवस्था रहेको स्थानीयको गुनासो छ । टोल विकास संस्थाका अध्यक्ष ओझा तिहारमा पटका नपट्काउन अनुरोध गर्दै हिँड्नुपरेको सुनाए । केही वर्षपहिले जङ्गल रहेको डिपो आसपास अहिले बाक्लो बस्ती छ ।
धनगढी–अत्तरिया सडक खण्डमा रहेको डिपो अगाडिबाट दैनिक हजारौँ सवारीसाधन गुड्छन् । नजिकै धनगढी नेत्रालय, सीपी अस्पतालसहित अन्य स्वास्थ्य संस्था, विद्यालय र व्यापारिक भवन छन् । केही वर्षअघि डिपोको पूर्वतर्फ रहेको एक फर्निचर उद्योगमा आगलागी हुँदा कतिपय स्थानीय घरै छाडेर हिँडेका चटकपुरवासीको सम्झनामा ताजै छ ।
डिपोका कारण सुरक्षा चुनौती बढेको जनाउँदै धनगढी उपमहानगरपालिकाले पनि बारम्बार निगमलाई सुरक्षित स्थानमा त्यसलाई स्थानान्तरण गर्न आग्रह गर्दै आएको नगर प्रमुख गोपी हमाल बताउँछन् । डिपोकै नजिक कक्षा १० सम्म अध्ययन हुने धनगढी प्रज्ञा सदन सञ्चालनमा छ । उक्त विद्यालयमा ४०० बढी विद्यार्थी अध्यनरत छन् । विद्यालयका प्राचार्य तीर्थराज फुलारा आफूहरू सधैँ त्रासमा रहेको र असुरक्षित महसुस गरिरहनुपरेको बताउँछन् ।
सत्यपाटी