नेपाली कांग्रेसमा महाधिवेशनको तिथि–मितिबारे रस्साकस्सी चलिरहेका बेला महामन्त्री विश्वप्रकाश शर्माले ‘मध्यमार्गी’ प्रस्ताव गरेका छन् । महाधिवेशनबारे चुलिएको अन्यौल समाधानका लागि शनिवार सानेपामा बसेको पदाधिकारी बैठकमा उनले ‘मध्यमार्गी’ प्रस्ताव राखेका हुन् ।
शर्माले बैठकमा महाधिवेशनको मितिबारे महासमितिबाट निर्णय लिनुपर्ने प्रस्ताव राखेका हुन् । १५ औँ महाधिवेशन आमनिर्वाचनअघि गरेर नयाँ नेतृत्वसहित निर्वाचनमा जान उचित कि आमनिर्वाचनपछि महाधिवेशन गर्न उपयुक्त भनेर महासमिति सदस्यहरूको राय लिनुपर्ने शर्माको प्रस्ताव छ ।
‘डिजिटल भोटिङको माध्यमद्वारा राय या मत संकलन प्रविधिको यो जमानामा सामान्य प्रक्रिया हो । दुई दिनमा नै यो प्रक्रिया सकिन्छ । एउटा पुरानो दलमा यसको अभ्यासले विशेष सन्देश पनि दिनेछ,’ शर्माको मध्यमार्गी प्रस्तावमा भनिएको छ, ‘स्वदेश र विदेशमा छरिएर रहेका महासमिति सदस्यहरूको राय र मत संकलन गर्ने विकल्प अहिलेको समयमा अत्यन्तै लोकतान्त्रिक र अत्यन्तै महत्त्वपूर्ण हुनेछ ।’
आगामी मंसिर वा अर्को वर्षको वैशाख भनेर छलफलमा रहेका महाधिवेशनका दुई मितिभन्दा मध्यमार्गी समाधानको पुस १६–१९ को मितिमा सहमत हुन पनि उनले आग्रह गरेका छन् । ‘सहमति जुट्न नसक्दा पक्ष–विपक्षमा धेरै विभाजित नबनौँ । एकातर्फ केन्द्रीय समितिको बहुमत छ, अर्कातर्फ ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको बहुमत छ,’ उनको भनाइ थियो ।
उनले दुवै बहुमतको मर्यादा राख्दै दुवै बहुमतभन्दा माथिको निकाय महासमितिको राय ‘डिजिटल भोटिङ सिस्टम’बाट लिनुपर्नेमा बताए । ‘इश्यु’ भन्दा ‘इगो’ केन्द्रमा रहे राजनीतिक दलहरू समस्यामा पर्ने भन्दै महामन्त्री शर्माले वर्तमान परिस्थितमा कांग्रेसले राष्ट्रिय राजनीति र आन्तरिक जीवन दुबैमा ‘इगो’ मुक्त भएर आफूलाई प्रस्तुत गर्नुपर्नेमा उनको जोड थियो ।
सत्यपाटी