२०८३ भदौ २ , मंगलबार 18, August 2026, Tuesday

क्यान्सर अस्पतालमा शैय्या पाउनै मुस्किल

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ कात्तिक १५ गते शनिबार

बाँकेको खजुरा गाउँपालिका–७ स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भौतिक पूर्वाधार अभाव हुँदा सेवा प्रवाहमा समस्या देखिएको छ । किमोथेरापी सेवा लिँदै आएका क्यान्सरका बिरामीले शैय्या अभावमा दिनभर पालो कुर्नपर्ने बाध्यता छ ।

दिनभर कुर्दा पनि किमोथेरापीका लागि शय्या पाउन मुस्किल हुने गरेको बिरामीको गुनासो छ । शय्या नपाउँदा किमोथेरापीका लागि दुई दिनसम्म पालो पर्खिनुपर्ने बाध्यता रहेको नेपालगन्ज–२१ का किमोथेरापी सेवाग्राही बिरामी डिगम्बर रानाले बताए ।

बुधबार दिनभर पर्खिदा पनि पालो नपाएपछि बिहीवार अपराह्न मात्र किमोथेरापीका लागि शैय्या मिलेको उनको भनाइ छ । अस्पतालमा बिरामीको चाप दैनिक रुपमा बढ्दो छ । बिरामीको सङ्ख्या बढेपछि अहिले अस्पतालले एउटै शैय्यामा दुई बिरामी राखेर किमोथेरापी सेवा प्रवाह गर्दै आएको छ ।

अस्पतालमा सञ्चालनमा रहेको ‘डे केयर वार्ड’मा शैय्या अभाव हुँदा सेवा प्रवाहमा समस्या देखिएको अस्पतालको सूचना अधिकारी डा.प्रवीणकुमार गुप्ताले बताए । उनका अनुसार, अस्पतालमा हाल करिब ५५ शैय्या मात्र सञ्चालनमा छन्, त्यसमध्ये किमोथेरापी सेवा प्रवाहका लागि सञ्चालित डे केयर वार्डमा करिव २० शैय्या मात्रै रहेका छन् ।

किमोथेरापी सेवा लिने बिरामीको सङ्ख्या भने दैनिक करिब ५० हुने गरेको छ । अस्पतालमा १५ शैय्याको डे केयर वार्ड भवन निर्माण भए पनि हस्तान्तरण नहुँदा थप समस्या भएको छ । डे केयर वार्ड भवन हस्तान्तरण भए किमोथेरापी सेवा लिने बिरामीलाई सेवा प्रवाह गर्न सहज हुने सूचना अधिकारी डा.गुप्ताको भनाइ छ ।

उनका अनुसार केमोथेरापी एक क्यान्सर उपचार हो जसले क्यान्सर कोषहरूलाई त तिनीहरूको वृद्धि रोकेर वा विभाजन गरेर मार्न औषधि प्रयोग गर्दछ । यो सेवा मुखबाट वा नशाबाट विभिन्न तरिकाले प्रदान गर्न सकिन्छ । पश्चिम नेपालको एक मात्र सरकारी क्यान्सर अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका बिरामी उपचारका लागि आउने गरेका छन् ।

गत आर्थिक वर्ष २०८१–०८२ मा मात्र यस अस्पतालबाट ३६ हजार ९३२ बिरामीले बहिरङ्ग विभागबाट सेवा लिएका थिए । त्यस मध्ये ७०८ बिरामीलाई शल्यक्रिया सेवा प्रवाह भएको सूचना अधिकारी गुप्ताले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ कात्तिक १५ गते शनिबार