जुम्लाको गुठिचौर गाउँपालिका–१ स्थित आकासे ताल पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटनको आकर्षण केन्द्र बन्दै गएको छ । यहाँको प्राकृतिक सौन्दर्यका आन्तरिक तथा बाह्य पर्यटक यसतर्फ आकर्षित बनेका हुन् ।
समुद्री सतहदेखि चार हजार ७०० मिटर उचाइमा अवस्थित आकासे बाट मनमोहक दृश्यावलोकनका साथै हिमालको फेदमा बसी प्रकृतिको काखमा रमाउन चाहने आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।
गुठिचौर गाउँपालिकाका प्रवक्ता एवं वडाध्यक्ष अर्जुनकुमार महताराका अनुसार यो ताल विसं २०७६ मा चौँरी गोठालाले पत्ता लगाएका हुन् । पत्ता लगेपछि सृजना सिज्जुसहितको टोलीले पहिलो पटक अवलोकन गरेर उक्त तालको श्रव्यदृश्य सार्वजनिक गरेपछि यहाँ पर्यटकको आगमन हुन थालेको वडाध्यक्ष महताराले बताए ।
उनले भने, ‘यस वर्षको दशैँतिहारमा दैनिक ५० जना भन्दाबढी आन्तरिक पर्यटकको आगमन भएको थियो । यहाँ पर्यटकीय पूर्वाधार विकास गर्न सके पर्यटन प्रवद्र्धनका साथै स्थानीयको आयस्तर बढे्ने अपेक्षा गरेका छौँ ।’ तालको प्रवर्द्धनका लागि पर्यटन बोर्डसँग समन्वय भइरहेको वडाध्यक्ष महताराले जानकारी दिए ।
उनका अनुसार अहिले तालसम्म पुग्नका लागि गुठिचौर–१ मौरेसम्म रु ५० लाखको लागतमा सडक निर्माण गरिएको छ । उनले सडक पुगेको ठाउँबाट तालसम्म पुग्न करिब तीन किलोमिटर लामो पदमार्ग निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए । तालको सही नापजाँचको कामलाई पालिकाले अघि बढाएको छ ।
यो वर्षको हिउँदे गाउँसभाबाट आकासे तालको पर्यटन प्रवद्र्धन गर्न आवश्यक बजेट विनियोजन गरिने वडाध्यक्ष महताराले जानकारी दिए । तालसम्म पुगेका पर्यटनलाई बस्नका लागि धर्मशालाको निर्माण गरिएको छ ।
अहिले तालको अवलोकन, घुमघाम गर्ने, श्रव्यदृश्य तथा वृत्तचित्र बनाउने लगायत प्रयोजनका लागि दैनिक तीनदखि पाँच समूहमा आन्तरिका तथा बाह्य पर्यटक पुग्ने गरेका वडाध्यक्ष महताराले उल्लेख गरे । आगामी आर्थिक वर्षदेखि तालसम्म पुग्ने पर्यटनको यकिन तथ्याङ्क राखिने उनले बताए ।
पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा ताल पर्न थालेपछि पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिइएको छ । तालको मनमोहक दृश्यले यहाँ पुग्ने सबैलाई आकर्षित गर्दछ । हिमालको फेदमा चिटिक्क परेको आकासे तालको मनमोहक दृश्यले पर्यटनको मन लोभ्याउने गरेको स्थानीय अजित थापाले बताए ।
‘केहीदिन अगाडि समूहमा तालसम्म पुगेका थियौँ । रारा तालसम्म पुगेका पर्यटनलाई यहाँसम्म ल्याउन सके स्थानीयको आर्थिकस्तर सुधार हुनुका साथै रोजगारीका अवसर सृजना हुने थियो,’ उनले भने । आकासे तालको प्रचारप्रसार गर्न गर्नुका साथै पूर्वाधार विकासमा जोड दिुनपर्ने थापाको भनाइ छ ।
तीनवटै सरकारको समन्वयमा तालको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न सकिने उनले उल्लेख गरे । तालको अवलोकन गरेर फर्कनुभएका तातोपानी गाउँपालिका–४ का स्थानीय भरत नेपालीले यहाँ पुग्ने पर्यटक हिमालको फेदीमा अवस्थित आकासे निलो रङको पानीले भरिएको तालको अवलोकन गर्दा मोहित हुने धारणा राखे ।
यहाँको सुन्दर र मनमोहक दृश्यले आफूलाई आकर्षित गराएको उनले बताए । कर्णाली प्रदेशको जुम्लामा पर्ने यस तालको प्रचारप्रसार गरी पर्यटकीय गतिविधि बढाउन सकिने नेपालीको भनाइ छ ।
‘विकट भूगोल, पर्यटकीय गन्तव्यको खोज र अनुसन्धानको कमी तथा तिनको संरक्षणको अभावमा आकासे ताल जस्ता कतिपय सुन्दर ताल गुमनाम छन् । कर्णाली प्रदेशमा प्राकृतिक र पर्यटकीय महत्त्वका यस्ता स्थलहरू धेरै छन् । ती स्थलको उजागर गरी पर्यटन प्रवर्द्धनका माध्यमबाट मनग्य गर्न सकिन्छ,’ नेपालीले भने ।
सत्यपाटी