बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रहेकाले यसको प्रभावका कारण नेपालको मौसम आज साँझसम्म प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार, आज साँझपछि भने मौसममा क्रमिक रूपमा सुधार हुँदै जाने देखिन्छ । यसका साथै, नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्यतया बदली रहनेछ ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा को सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले चेतावनी दिएको छ ।
उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा मध्यम हिमपात र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा पनि हिमपातको सम्भावना छ । विशेषगरी, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपात को पनि सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
