२०८३ असार १४ , आइतबार 29, June 2026, Monday

बाँकेमा २० हजार क्वीन्टल धान खरिद गर्दै खाद्य व्यवस्था कम्पनी

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ कात्तिक १३ गते बिहीबार

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्जस्थित कार्यालयलले बाँकेमा यस वर्ष २० हजार क्वीन्टल धान खरिद गर्ने जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख रामशरण लामिछानेले कार्यालयले मोटा धान १५ हजार र मध्यम धान पाँच हजार क्वीन्टल खरिद गर्ने गरी कोटा निर्धारण भएर आएको जानकारी दिए ।

उनले गत वर्ष नेपालगन्जमा मध्यम धान २५ हजार र मोटा धान सात हजार गरेर ३२ हजार क्वीन्टल धान खरिद गरेको कार्यालयले जनाएको छ । साथै यस वर्ष २० हजार क्वीन्टल मात्र धान खरिदको कोटा आएको बताए ।

प्रमुख जिल्ला अधिकारीको सरुवा भएकाले नयाँ प्रमुख जिल्ला अधिकारी आएलगत्तै खरिद समितिको बैठक बसेर निर्णय गरी धान खरिद सुरु गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले जनाएको छ ।

सरकारले आर्थिक वर्ष २०८२–०८३ का लागि मोटा धानको समर्थन मूल्य प्रति क्वीन्टल तीन हजार ४६३ रुपैयाँ ८१ पैसा तोकेको छ भने मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार ६२८ रुपैयाँ ३३ पैसा तोकेको छ ।

तर, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले समयमै धान खरिद अझै सुरु नगर्दा किसानले बजारमा व्यापारीलाई बाध्य भएर दुबै धानमा करिब ९०० रुपैयाँ क्वीन्टल कम मूल्यमा धान बिक्री गरिरहेका छन् ।

सरकारले तोकेको समर्थन मूल्य अनुसार व्यापारीले धान खरिद नगर्दा किसानलाई निकै समस्या परेको उनीहरुको गुनासो छ । धान खरिदमा ढिलाइ गरिँदा सरकारले तोकेको मूल्य नपाएपछि किसानहरुले बाध्य भएर ९०० रुपैयाँ कम मूल्यमा बजारमा धान बिक्री गर्नुपरेको छ ।

बाँके कम्दीका किसान राजन मौर्यले सरकारले धान खरिदमा ढिलाई गर्ने, खरिद सुरु गरेपनि निकै कम धान खरिद गर्ने र खरिद गर्दा विभिन्न मापदण्ड लगाएर अधिकांश धान फिर्ता पठाउने गरेकाले किसानलाई निकै समस्या भएको बताए ।

हाल खाद्य व्यवस्था कार्यालयमा गत वर्ष खरिद गरिएको धानको २० हजार क्वीन्टल चामल मौज्दात रहेकाले धेरै धान खरिद गरेर राख्ने ठाउँ अभावले पनि समस्या भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले जनाएको छ ।

बाँके बनकटवाका किसान दिपेन्द्र चौधरीले धान खरिदमा ढिलाई गरिएको र त्यसमा पनि विभिन्न बाधा अवरोध कायम गरिने हुँदा किसानको बिचल्ली हुने गुनासो गरे । गत वर्ष धान खरिद गरेर तयार गरिएको चामल महँगो भयो भनेर बिक्री नहुँदा यस पटक धेरै धान खरिद गर्न नसकिने अवस्था आएको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक १३ गते बिहीबार