२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

क्यानडाको पिआरमाथि छानविन हुँदा एसएसपी रानाभाटको राजीनामा

क्यानडाको आवासीय कार्ड बोकेर नेपाल प्रहरीमा जागिर खाइरहेका एक प्रहरी अधिकृतले राजीनामा दिएका छन् । सबै परिवार विदेशमै रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले राजीनामा बुझाएका हुन् ।

०५८ सालमा प्रहरीमा प्रवेश गरेका रानाभाट क्यानडाका पिआर भएका व्यक्ति हुन् । उनका परिवार उतै बसिरहेका छन् । उनीमाथि छानविन भएपछि राजीनामा दिएको पारिवारिक स्रोतले जानकारी दियो । सुदूरपश्चिम प्रहरी कार्यालयमा कार्यरत रानाभाट पूर्वगृहमन्त्री रमेश लेखकका विश्वास पात्र हुन् ।

त्यसअघि एसएसपी रानाभाट विदेशी परिचयपत्र भएका कारण बढुवामा छुटेका थिए । यसरी नेपालको सुरक्षा निकायमा काम गरेर बिदेशमा जहान परिवार राखेर आफू पनि पिआर लिएका सुरक्षा अधिकारीलाई राजीनामा स्वीकृतभन्दा पनि कार्वाही गर्नुपर्ने आवाज पनि एकाथरीले उठाइरहेका छन् ।

प्रकाशित मिति : २०८२ कात्तिक १३ गते बिहीबार