२०८३ साउन ५ , मंगलबार 22, July 2026, Wednesday

आइसीसी विश्वकप लिगमा आज नेपाल र युएई भिड्दै

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ कात्तिक १३ गते बिहीबार

आइसीसी विश्वकप लिग–२ अन्तरगत त्रिकोणात्मक सिरिजमा आज नेपाल र युएइबीच खेल हुदैछ । दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरू हुदैछ । यस सिरिजमा नेपाल र युएई दुवै अमेरिकासँग हार बेहोरेका छन् ।

नेपालले अमेरिकासँग १०६ रनको हार बेहोरेको थियो भने युएईले अमेरिकासँग ४ विकेटको हार बेहोरेको थियो । नेपाल र यूएईले हालसम्म एकदिवसीय खेलमा एक अर्काविरूद्ध १५ खेल खेलेका छन्, जसमा नेपालले ९ खेल जितेको छ भने युएईले ६ खेल जितेको छ ।

नेपाल हाल विश्वकप लिग–२ को अंक तालिकामा सातौं स्थानमा छ । १७ खेलमा ५ जित र १० हारसहित नेपालको १२ अंक छ । त्यस्तै १७ खेल खेलेको युएईको केबल ६ अंक रहेको छ र अंक तालिकामा पुछारमा रहेको छ ।

यस सिरिजका लागि छानिएको नेपाली टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), असिफ सेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, अनिलकुमार शाह, सोमपाल कामी, आरिफ सेख, भीम सार्की, करण केसी, गुलशन झा, साहब आलम, नन्दन यादव, कुशल मल्ल र ललित राजबंशी रहेका छन् ।

अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म अमेरिका र युएईसँग हुने यस त्रिकोणात्मक सिरिजमा अक्टोबर २६ आइतबार नेपाल र अमेरिका, अक्टोबर २८ मंगलबार युएई र अमेरिका, अक्टोबर ३० विहिबार नेपाल र युएई, नोभेम्बर १ शनिबार नेपाल र अमेरिका, नोभेम्बर ३ सोमबार युएई र अमेरिका र नोभेम्बर ६ बुधबार नेपाल र युएई खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक १३ गते बिहीबार