२०८३ साउन ११ , सोमबार 27, July 2026, Monday

पिकनिक स्पट बन्दै बर्दियाको ‘ओखरिया इन्टेक’

सत्यपाटीसत्यपाटी । बर्दिया । २०८२ कात्तिक १२ गते बुधबार

बर्दियाको गेरुवा गाउँपालिकामा रहेको ओखरिया इन्टेकमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । तिहारको समयमा देउसी भैलो खेलेपछि पिकनिक खाने, इन्टेक घुम्ने, कर्णाली चिसापानी पुुल र बर्दिया राष्ट्रिय निकुञ्जको दृश्यावलोकन गर्नका लागि पर्यटकको घुइँचो लाग्ने गरेको छ । ओखरिया इन्टेकमा आजभोली पिकनिक खाने र घुम्नेको घुइँचो लाग्ने गरेको छ ।

शनिबारको दिनमा सबैभन्दा बढि घुइँचो लाग्ने गरेको गेरुवा गाउँपालिका–१ जनकनगरका पर्यटन व्यवसायी तिलक चौधरीले बताए । पछिल्लो समयमा हरेक दिन करिब ५० वटा टिम पिकनिक खान र घुम्नका लागि आउने गरेको उनले बताए । ओखरिया इन्टेकमा बर्दिया राष्ट्रिय निकुञ्जबाट विचरण गर्न आएका बाघ, हात्ती गैँडा चित्तल लगएतका वन्यजन्तु हेर्न पाइन्छ ।

इन्टेक आसपासको क्षेत्रमा आउने वन्यजन्तु हेर्न सकिने हुँदा त्यहाँ घुम्न जाने गरेको गेरुवा गाउँपालिका–४ गिदरपुरका पुस्कर काफ्लेले बताए । ओखरिया इन्टेकलाई थप व्यवस्थित बनाउन सके बाह्य पर्यटकलाई आकषित गर्न सकिने उनले बताए । पर्यटक तथा पिकनिक टोलीलाई सहज बनाउन गेरुवा गाउँपालिकाले पिकनिक स्थलको व्यस्थापन गरेको छ ।

पिकनिक स्थलमा खानेपानी, शौचालय, टहरा, गोलघर र त्यहाँ जानका लागि सडक निर्माण गरिएको गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर चन्दले बताए । उनले सो ठाउँलाई थप रमणीय बनाउन शहिद स्मृति पार्क निर्माण कार्य अगाडि बढाइएको बताए । ओखरिया इन्टेक सँगसँगै गेरुवा गाउँपालिकाले अन्य स्थानलाई समेत पर्यटकिय क्षेत्रको रुपमा विकास गर्दै लगेको उनले बताए ।

पश्चिम क्षेत्रबाट निकुञ्ज दृश्यावलोकन गर्ने र निकुञ्ज प्रवेश गर्ने गरी पर्यटक आकर्षित गर्नका लागि योजना बनाएर काम गरिरहेको गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले बताए । ओखरिया इन्टेक बर्दियाको सदरमुकाम गुलरियादेखि ५५ किलोमिटर उत्तर पश्चिममा पर्दछ । भौगोलिक विकटता भए पनि शान्त वातावरण र मनोरम दृश्य भएकाले टाढा–टाढादेखि ओखरिया इन्टेक घुम्नका लागि पर्यटकहरू पुग्ने गर्दछन् ।

प्रकाशित मिति : २०८२ कात्तिक १२ गते बुधबार