सामाजिक कुप्रथाविरुद्ध बझाङका धार्मिक गुरुहरू सक्रिय भएका छन् । गाउँगाउँमा अभियान नै सञ्चालन गरेर घरेलु हिंसा, महिनावारी विभेद, बालविवाह, जातीय छुवाछूत लगायत सामाजिक कुरीतिविरुद्ध उनीहरू सक्रिय भएका हुन् ।
बुङ्गल नगरपालिका–६, ७, ९, १० र ११ मा कुरीतिविरुद्ध गुरूहरू गणेशप्रसाद पन्त र वैदिक सुरेश सनातनी आर्यले धार्मिक प्रवचनका माध्यमबाट स्थानीयलाई जागरुक बनाउने अभियान थालेका छन् । धार्मिक प्रवचनमा पण्डित पन्तले धर्मशास्त्रमा विभेदजन्य कुनै पनि क्रियाकलाप नभएको बताए ।
सनातनी हिन्दू धर्म मान्नेहरूले कुनै किसिमको कुरीतिलाई स्वीकार गर्न नहुनेमा उनले जोड दिएका छन् । उनले भने, ‘महिनावारी प्राकृतिक कुरा हो । महिनावारी नहुनु भनेको अस्वस्थ हुनु हो । बाँझोपन हुनु हो । जब सृष्टिकर्तामा नै बाँझोपन आउँछ भने उसले उत्पादन गर्न सक्दैन । त्यसैले महिनावारी भएकालाई सम्मान गर्नुपर्छ ।’
परम्परागत रुपमा प्रयोग गरिने पञ्चगब्य र सुनपानीलाई पनि गलत अर्थ लगाएर प्रचार गरिएको सनातनी आर्यले बताए । ‘गहुँत छर्कनु भनेको कीटाणु मार्नु हो । गहुँत गोबर तथा सुनपानीले सेनिटाइजरको काम गर्छ,’ उनले भने ।
सत्यपाटी