२०८३ मंसिर २ , बुधबार 19, November 2026, Thursday

अब नेपालमा सामाजिक सञ्जाल बन्द हुँदैन : सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अब नेपालमा सामाजिक सञ्जाल बन्द नहुने स्पष्ट पारेका छन् । मन्त्री खरेलले सामाजिक सञ्जाल अहिलेको नयाँ मूलधारको सञ्चारमाध्यम भएकाले सामाजिक सञ्जाललाई बन्द नगर्ने स्पष्ट पारे ।

बुधबार सिंहदरबारमा डिजिटल सञ्चारमाध्यम आबद्ध विभिन्न संघ संस्थासंस्थाहरुसँगको छलफलका क्रममा सामाजिक सञ्जाललाई व्यवस्थित र जिम्मेवार बनाउने काममा सरकारलाई सरोकारवाला सबैले साथ दिनुपर्ने उनले बताए ।

उनका अनुसार सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने होइन, व्यवस्थित र जिम्मेवार बनाउने दिशामा सरकार अघि बढिरहेको छ । ‘सामाजिक सञ्जाल अब नयाँ पुस्ताको मुख्य सञ्चार माध्यम बनेको छ, त्यसैले यसलाई जिम्मेवार र सकारात्मक बनाउन सबै पक्षको सहकार्य आवश्यक छ,’ मन्त्री खरेलले भने ।

मन्त्री खरेलले नयाँ मूलधारको सञ्चारमाध्यमलाई सरकारले चिनेको भन्दै सदैव प्राथमिकतामा राख्ने उल्लेख गरे। उनले अनलाइन सञ्चारमाध्यमको नवीकरण र दर्ता सूचना विभागबाटै सुरु गर्न मन्त्रिपरिषद्मा नियमावली पेस गरी पारित हुने जानकारी दिए ।

सरकारले नयाँ मूलधारका सञ्चारमाध्यमलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री खरेलले डिजिटल मिडियाको सुदृढीकरणका लागि आवश्यक कानुनी संरचना तयार पारिने बताए । छलफलका क्रममा अनलाइन टिभी सञ्चालकका साथै डिजिटल सञ्चार माध्यममा प्रतिनिधिहरूले राज्यले आफूहरूलाई प्राथमिकतामा नराखेको गुनासो गरेका थिए ।

प्रकाशित मिति : २०८२ कात्तिक १२ गते बुधबार