दशैंतिहार सकिनासाथ कर्णाली प्रदेशको मुगुमा अवस्थित प्रसिद्ध राराताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ । देशकै सबैभन्दा ठूलो र गहिरो ताल मानिने राराताल कर्णालीको पर्यटन मुटुका रूपमा परिचित छ ।
रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार साउनदेखि असोज महिनासम्म मात्र दुई हजार ३४७ जना आन्तरिक तथा २७ जना बाह्य पर्यटक रारा पुगेका छन् । सोहि अवधिमा प्रवेश शुल्कबाट मात्र दुई लाख २९ हजार २०० रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । गत वर्ष सोही अवधिमा १६५७ आन्तरिक र ३५३ विदेशी पर्यटकले भ्रमण गर्दा २८ लाख ५३ हजार ९०० राजस्व संकलन भएको थियो ।
निकुञ्जका वरिष्ठ गेम स्काउट हेमराज रोकायाका अनुसार पछिल्लो समय दैनिक ५० देखि २०० सम्म पर्यटक आउने क्रम बढेको छ । सडक पहुँच सुधार, रारासहित आसपासका क्षेत्रमा व्यवस्थित होटल तथा होमस्टे सञ्चालनले पर्यटक आकर्षण बढाएको उनले बताए । काठमाडौं बुढानिलकण्ठ–१० का पर्यटक राजु राई रारा पुगेपछि बाटोको थकान नै बिर्सिएको बताउँछन् ।
‘तीन दिनको गाडी यात्रा निकै गाह्रो लाग्यो । तर रारा देखेपछि सबै पीडा बिर्सिएँ । एकदिन बस्ने योजना भए पनि दृश्यले मोहित बनायो, थप एक दिन बस्ने मन लाग्यो,’ उनले अनुभव सुनाए । त्यस्तै, काठमाडौंबाट रारा घुम्न आएकी उषा अधिकारीले राराको प्राकृतिक सुन्दरताले आफू मोहित भएको बताउँदै राष्ट्रिय तथा स्थानीय निकायले भौतिक पूर्वाधारमा अझ ध्यान दिनुपर्ने माग राखिन् ।
‘मर्मत गरिएको बाटो, पर्यटकमैत्री संरचना थपिए रारामा बसाइ दिन बढ्छ,’ अधिकारीले भनिन् । भाद्र, असोज र कार्तिक महिनालाई रारा भ्रमणको उपयुक्त मौसम मानिन्छ । दशैंतिहारताका मुग्लिन–नारायणघाट सडक बन्द भएपछि केही समय संख्या घटेको भए पनि अहिले दैनिक ५०–६० पर्यटक प्रत्येक होटलमा आउने गरेको होटल व्यवसायी बताउँछन् ।
एकै दिनमा ४०० भन्दा बढी पर्यटक रारा पुगेको रेकर्ड पनि छ । भ्रमणमा आएका पर्यटकले मुर्मा टप, चुचेमारा, चमेरा गुफा, महादेव मन्दिर, नीलिचौर, सल्यरी, छाप्रु महादेव लगायत आसपासका स्थान पनि अवलोकन गर्ने गरेका छन् । रारा राष्ट्रिय निकुञ्जले आगामी दिनमा पर्यटक आकर्षित गर्ने कार्यक्रम थप रूपमा सञ्चालन गरिने जनाएको छ ।
सत्यपाटी