२०८२ कात्तिक ३० , आइतबार 17, November 2025, Monday

नेपालगन्जका ट्राफिक बत्ती र सिसिटिभिमा क्षति

सत्यपाटी
सत्यपाटी । बाँके । २०८२ कात्तिक १२ गते बुधबार

गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा नेपालगन्जमा जडान गरिएका ट्राफिक बत्तीमा क्षति गरिएपछि यहाँको ट्राफिक ब्यवस्थापनमा समस्या उत्पन्न भएको छ । सडक डिभिजन कार्यालयले नगरका पुष्पलालचोक, धम्बोझी, विपीचोक र गणेशमान चोकमा ट्राफिक बत्ती जडान गरेको थियो ।

त्यसमध्ये विपी चोक र गणेशमान चोकमा आंशिक सञ्चालन भए पनि पुष्पलालचोक र धम्बोझी चोकमा भने नियमित ट्राफिक बत्ती सञ्चालन भएकोमा भदौं २४ पछि लामो समय ट्राफिक बत्ती बन्द भयो । आनदोलनको दोस्रो दिन भदौं २४ गते ट्राफिक बत्तीमा तोडफोड र ढुङ्गामुढा गरी क्षतिग्रस्त बनाइएको हो ।

आन्दोलनको केही समयपछि धम्बोझी चोकमा आंशिक बत्ती सञ्चालन भए पनि समय नदेखाउने समस्याका कारण नियमित सञ्चालनमा आउन सकेको छैन । जसका कारण नेपालगञ्जमा ट्राफिक ब्यवस्थापनमा समस्या देखिएको छ ।

ट्राफिक प्रहरी पोष्ट नेपालगन्जका इन्चार्ज नन्द पोखरेलले ट्राफिक बत्तिमा क्षति पुगेपछि धम्बोझीको मात्र आंशिक सञ्चालनमा रहेको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले आफू जेनजी आन्दोलनका क्रममा ट्राफिक बत्ती र सिसिटिभिमा क्षति पुगेकाले मर्मतका लागि नेपालगन्ज उपमहानगरपालिकासँग समन्वय भइरहेको बताए ।

प्रकाशित मिति : २०८२ कात्तिक १२ गते बुधबार