२०८३ असार १३ , शनिबार 27, June 2026, Saturday

कैलालीमा पनि छठ पूजा गर्नेको सङ्ख्या बढ्यो

सत्यपाटीसत्यपाटी । कैलाली । २०८२ कात्तिक ९ गते आइतबार

छठ पर्वका अवसरमा कैलालीको मोहना नदीतटमा विगत १३ वर्षदेखि आयोजना गर्दै आएको छठपूजामा श्रद्धालु भक्तजनको सङ्ख्या बढ्दै गएको छ । छठ पूजाका लागि मोहना नदीतटमा पाँच वटा पालसहितको घर बनाएर सुरुका वर्षमा पर्व मनाउँदै आएकामा हिजोआज कम्तिमा २६० को हाराहारीमा पूजा कक्ष निर्माण गर्न थालिएको छ ।

छठपूजा सेवा समिति धनगढीका अध्यक्ष सन्तोष मण्डलले छठ पूजाका लागि सुरुमा रु ३५ हजार मात्र खर्च हुने गरेका अहिले रु १५ लाख लाग्ने गरेको उल्लेख गरे । स्थानीय तह, उद्योगी, व्यापारी, विभिन्न सङ्घसंस्था लगायत सर्वसाधारणको सहयोगमा रकम सङ्कलन गरी समितिले हरेक वर्ष पूजा सम्पन्न गर्दै आइरहेको जनाएको छ ।

सुरुका वर्षमा पूजास्थलमा कम चहलपहल हुने र सुनसान देखिने भए पनि पछिल्ला केही वर्षयता करिब एक लाखको हाराहारीमा भक्तालु तथा दर्शनार्थीहरू अवलोकनका लागि आउने गरेको अध्यक्ष मण्डलले बताए । ‘यो पर्व पहिले विशेष गरी मिथिला समुदायले मात्र मनाउने चलन थियो, तर पछिल्लो समय अन्य समुदायले पनि मनाउने गरेका छन्,’ उनले भने ।

उनका अनुसार निरहार व्रत बसेर धनगढीको मोहना छठीघाटमा ३०० भन्दाबढी परिवार तथा अन्य समुदायका व्यक्ति पूजाका लागि आउने गरेका छन्, त्यस्तै दुई हजारको हाराहरी भक्तजन नदीमा आएर सूर्यनारायणलाई फूल तथा जल अर्पण गर्ने गर्दछन् । छठ पर्व आउनुभन्दा एक महिना अघिदेखि मोहना नदीतटमा सरसफाइ गरी पूजालाई सफल पर्न स्थानीयको सहभागितामा तयारी गर्ने गरिएको छ ।

समितिका उपाध्यक्ष रोशनकुमार कर्णले भने, ‘विगतमा यो पर्वतर्फ यहाँका अन्य समुदाय तथा स्थानीयको रुचि कम थियो । पछिल्ला केही वर्षयता सानासाना बालबालिकादेखि वृद्धवृद्धासम्म यो पर्व मनाउने स्थलमा आउने गरेका छन् ।’ यस पर्वमा परिवारका सदस्यहरूको दीर्घायु जीवन, सुख, शान्ति र समृद्धि, रोगव्याधिबाट बच्न, सन्तानलाभ प्राप्ति लगायत कामनाका लागि भक्तालुहरू व्रत बस्ने गर्दछन् ।

यस वर्ष छठ पर्वको तयारीका लागि धनगढीको मोहनाघाटमा २५६ पूजाकक्ष निर्माण गरिएका छन् । ती पूजाकक्षमा पाल, बत्ती, झिलिमिली बत्ती, रङ्गीचङ्गी माला, पताका गायतले सजाएर आकर्षक बनाइएको उपाध्यक्ष कर्णले जानकारी दिए । भक्तजन तथा दर्शनार्थीका लागि आकर्षक प्रवेशद्वार निर्माण गरिएको छ । धनगढी बजारका मुख्य स्थानमा स्वागतका लागि प्रवेशद्वार निर्माण गरिएका छन् ।

नेपालको पूर्वी भेगबाट ल्याइएका कालीगढले सूर्यको प्रतिमासहित विभिन्न देवीदेवताको मूर्ति निर्माण गरी, पेन्टिङ गर्ने, सजाउने काम अन्तिम चरणमा पुगेको छ । मोहना नदीतटीय भागको माथितिर ठूलो पण्डाल निर्माण गरिएको छ । जहाँ अवलोकन गर्न आउने श्रद्धालुका लागि बस्ने व्यवस्था, भक्तालुको बसोबास तथा रातभर जाग्राम बस्नेका लागि छुट्टै व्यवस्था मिलाइएको छ ।

त्यस्तै भजनकीर्तन नाचगान, राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलाकारको प्रस्तुति, विभिन्न देवीदेवताका सांस्कृतिक झाँकीलगायत कार्यक्रमको पनि आयोजना गरिएको जनाइएको छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनहरुको भीड लाग्ने गर्दछ ।

प्रकाशित मिति : २०८२ कात्तिक ९ गते आइतबार