थाई एयर एसियाले भैरहवामा आजबाट पुनः उडान सुरु गरेको छ । गत चैतबाट रोकिएको उडान आजबाट पुनः सुरु भएको हो । सो एयरलाइन्सले आइतबार र बुधवार गरी सातामा दुई पटक बैंकक–भैरहवा–बैंकक उडान थालेको हो ।
थाई एयर एसियाको जहाज दिउसो पौने १ बजे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए । आज १७ जना यात्रु लिएको आएको विमानले जाँदा १६७ यात्रु लिएर जाने तयारी गरेको उनले बताए ।
आज लामो समयपछि फस्ट उडान भएका कारण आउँदा थोरै यात्रु आए पनि जाँदा धेरै भएको उनले बताए । थाइल्यान्डको बैंककबाट भैरहवा उडान गर्नको लागि एयर एसियाले गत असारमै अनुमति लिएर टिकट खुल्ला गरेको थियो ।
उडानका लागि टिकट बिक्री पनि राम्रो भएको एयरलाइन्सले जनाएको छ । हप्ताको दुई दिन थाई एयर एसियाको उडान तालिका अनुसार यो सिजनमा पुन उडान सुरु भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए । उनका अनुसार आइतबार र बुधबार दुई दिन उडान हुनेछ ।
गत अप्रिलमा त्रिभुवन विमानस्थल मर्मतसमेत भएकाले भैरहवा विमानस्थलमा चाप बढेको थियो । त्यतिबेला दैनिक चार वटा उडान भएका थिए । पाँच महिनामा २०० बढी उडानबाट सात हजार यात्रु आवतजावत गरेको विमानस्थलले जनाएको छ । त्यसयता केही चार्टर उडान मात्रै भएका छन् ।