श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको शपथ लिन लागेका खगेन्द्र सुनार मन्त्री नबन्दै विवादमा तानिएका छन् । उनी फौजदारी मुद्दामा प्रतिवादी रहेको भेटिएको छ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा मन्त्री बन्न लागेका सुनारमाथि महिलामाथि गैरजिम्मेवारपूर्ण व्यक्तिगत र टिप्पणी गरेको विषय सामाजिक सञ्जाल र मिडियामा भाइरल बनेको छ ।
सुनारमाथि स्वास्थ्यकर्मीमाथि हातपात, बहुविवाह, विद्युतीय कारोबार र अदालतको अवहेलना सम्बधी जाहेरी समेत परेको पाइएको छ । मन्त्री बन्नेको सूचीमा उनको नाम सार्बजनिक भएसँगै सुनारविरुद्ध सुर्खेत जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जी पनि सामाजिक सञ्जालमा भाइरल भएको छ ।
सुर्खेतको गुर्भाकोट नगरपालिका–८ स्थित मेहेलकुना अस्पतालका कार्यालय प्रमुख डा.सोजन सापकोटाको जाहेरीका आधारमा स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपातको मुद्दामा सुनारलाई प्रतिवादी बनाएका थिए । अदालतले २०८१ असार २१ गते सुनारविरुद्ध ७ दिने पक्राउ पुर्जी जारी गरेको थियो ।
दैलेख, नारायण नगरपालिका–२ भैसेखोर बस्ने ३१ वर्षीय सुनारलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय, दैलेखलाई निर्देशन दिएको थियो । अहिले सामाजिक सञ्जालमा विवादित व्यक्तिलाई मन्त्री बनाउन लागेको विरोध भइरहेको छ । सुनार दलित अधिकारको आवाज उठाउने अभियन्ता हुन् ।
उनले संवैधानिक पद र राजनीतिक नियुक्तिमा दलित प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गर्दै नेल लगाएर काठमाडौंमा प्रदर्शन गरेका थिए । दलित अधिकारको पक्षमा यसअघि पनि पटक–पटक धर्ना, प्रदर्शन र आन्दोलनमा सहभागी भएका उनी २०७७ साल जेठ ११ गते रुकुम पश्चिममा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या लगत्तै खगेन्द्रले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको गेटमा भोकै सुतेर आन्दोलन गरेका थिए ।
उनले यो मुद्दाको सुनुवाइ चलिरहेका बेला जिल्ला अदालत रुकुमपश्चिमको गेटमा १० दिनसम्म धर्ना दिएका थिए । सो घटनामा उच्च अदालत सुर्खेतले व्यक्ति हत्यामा सजाय सुनाएको थियो भने जातीय छुवाछुत नभएको फैसला गरेको थियो । यो फैसलापछि खगेन्द्रले अदालतको ढोका अगाडि न्यायाधीशविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।
त्यही विषयलाई लिएर अधिवक्ता मनिषा गौतमले सुनारविरुद्ध अदालतको अवहेलनाको मुद्दा सर्वोच्च अदालतमा दायर गरेकी थिइन् । त्यसपछि खगेन्द्रले अपशब्द प्रयोग गर्दै गौतमविरुद्ध फेसबुकमा स्टाटस लेखेका थिए । उनले अधिवक्ता गौतमविरुद्ध अपशब्द प्रयोग गर्दै लेखेको फेसबुक स्टाटसको स्क्रिनसट पनि अहिले भाइरल भइरहेको छ ।
गौतमको फोटो र मोबाइल नम्बर फेसबुकमा राख्दै सुनारले लेखेका थिए, ‘यसलाई यो नम्बर ९८६०‘फोन गरेर सोधौं– त नेपाल बारको होस् कि ठमेल बार को ?’ उनले फेरि अर्को एउटा पोष्टमा ‘कालो कोटको आडमा कालो धन्दावाली– तँलाई तेरै अदालतमा कानुन पढाउने दम छ हामीसँग । तसँग दम छ ? दिउँसै कालोधन्दा गर्ने नेपाल बार र राति धन्दा गर्ने ठमेलको बारमा के फरक छ ?’ सुनारले लेखेका थिए ।
यहि कारण सुनारको कतिपयले विरोध र प्रधानमन्त्री कार्कीको आलोचना गरेका छन् । उनलाई चिन्नेहरूले उनीविरुद्ध सुर्खेत र काभ्रेबाट जारी भएको पक्राउ पुर्जी तथा उनले एक महिला अधिवक्ताविरुद्ध लेखेको फेसबुक स्टाटस सार्वजनिक गर्दै सरकारको आलोचना गरिरहेका छन् । खगेन्द्र दैलेखको नारायण नगरपालिका–२ भैसेखोर निवासी खगेन्द्र कमान सिंहका छोरा र डिलबहादुरका नाती हुन् ।
साथै उनले गरेका अभद्र टिप्पणीहरु अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् । उनी २०७८–०७९ मा दैलेखबाट नेपाली कांग्रेसको महासमिति सदस्य निर्वाचित भएका थिए । उनीविरुद्ध विद्युतीय कारोबार सम्बन्धी मुद्दामा समेत काभ्रे जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । यी दुवै मुद्दा फस्र्यौट नभएको र उनी फरार अभियुक्तको रेकर्डमा रहेको प्रहरी स्रोत बताउँछ ।


सत्यपाटी