२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

तीन महिनामा एक अर्ब ६७ करोड बढीको अलैँची निर्यात

सत्यपाटीसत्यपाटी । झापा । २०८२ कात्तिक ९ गते आइतबार

झापाको मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो त्रैमासिकमा अलैँची निर्यात ३३ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्क अनुसार उक्त अवधिमा एक अर्ब ६७ करोड ९१ लाख ७५ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको हो ।

तीन महिनामा एक हजार ७२ मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले बताए । अघिल्लो आव २०८१–०८२ को सोही अवधिमा एक अर्ब सात करोड २२ लाख बराबरको अलैँची निर्यात भएको थियो ।

मेची भन्साबाट चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो तीन महिनामा चार अर्ब ८० करोड ३९ लाख २४ हजारको मालवस्तु निर्यात भएको छ । कार्यालयको तथ्याङ्क अनुसार चालु आवको तीन महिनामा चियाको निर्यात ४० दशमलव ९० प्रतिशतले घटेको छ ।

उक्त अवधिमा एक अर्ब एक करोड २१ लाख ८६ हजार मूल्य बराबरको चिया निर्यात भएको छ । अघिल्लो आव २०८१–०८२ को सोही अवधिमा एक अर्ब ७१ करोड ४० लाख ३१ हजार बराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईँले जानकारी दिए ।

कार्यालयको तथ्याङ्क अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा भेनियर सिट १२६ प्रतिशत, छुर्पी ६१ दशमलव ८० प्रतिशत, प्लाइउड शतप्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी ७१ दशमलव ४० प्रतिशत, धातुका अन्य अवशेष शतप्रतिशत, मुसुरो दाल ४८१ प्रतिशतले वृद्धि भएको छ । यसैगरी अदुवा ३२ दशमलव ३० प्रतिशत र अम्रिसो निर्यातमा २४ प्रतिशतले कमी आएको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक ९ गते आइतबार