यो साता देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखासहितका मौसमविद्ले हल्कादेखि मध्यमसम्म पानी पर्ने औँल्याएका छन् । बंगालको खाडी र अरबसागरमा बनेको दुई न्यून चापीय प्रणालीको प्रभावले देशमा आउँदो मंगलबारदेखि शुक्रबारसम्म वर्षाको सम्भावना रहेको छ ।
‘बंगालको खाडी र अरब सागरमा बनेको दुईवटा न्यूनचापीय प्रणालीले मंगलबारदेखि शुक्रबारसम्म नेपालमा वर्षा गराउने राम्रै सम्भावना देखिन्छ,’ त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक डा.विनोद पोखरेलले शनिबार बेलुका फेसबुकमा लेखेका छन् । उनले यसअघि बुधबारदेखि वर्षाको सम्भावना औँल्याएका थिए ।
मौसममा छिनछिनमा फेरबदल र त्यही अनुसार अपडेट स्वाभाविक हो । उनका अनुसार, तीन मोडेलमा वर्षा हुने ठाउँ र मात्रा फरक–फरक देखिएको छ । तर, धेरै प्रभाव पूर्वी नेपालमा पर्ने उनले उल्लेख गरेका छन् । ‘तीनवटा मोडेल्सले वर्षा हुने ठाउँ र वर्षाको मात्रा फरक देखाएका छन्,’ उनले लेखेका छन्, ‘तर, धेरै वर्षा पूर्वी नेपालमा हुने र बाँकी भागमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।’
महाशाखाका अनुसार, कोसी प्रदेशका केही स्थानमा वर्षाको पूर्वानुमान छ । अरू प्रदेशका थोरै स्थानमा पानी पर्ने सम्भावना रहेको महाशाखका मौसमविद् सरोज पुडासैनीले बताए । हाललाई मध्यमसम्म वर्षाको पूर्वानुमान छ । ‘त्यति बेलासम्म प्रणाली कत्तिको प्रभावशाली हुन्छ, त्यसमा भर पर्छ,’ उनले भनेका छन्, ‘यो अपडेट हुन्छ ।’