मनाङको नार्पा भूमि गाउँपालिका–४, काङ्ला फेदीबाट पर्यटकको भारी बोकेर फर्कने क्रममा लेक लागेर शनिबार (कात्तिक ८) एकजनाको मृत्यु भएको छ । लमजुङको क्व्होलासोथार गाउँपालिका–४ का ४८ वर्षीय डिलबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गुरुङ लेक लागेर बिरामी भएका थिए । हेलिकोप्टरबाट उद्धार गरी उपचारका निम्ति उनलाई पोखराको मणिपाल शिक्षण अस्पताल पठाइएकामा चिकित्सकले मृत घोषणा गरेका मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए । डिलबहादुरका भाइ केशबहादुरले लेक लागेर घटनास्थलमा नै उनको मृत्यु भएको खबर गरेका थिए ।
अस्पताल पठाउँदा चिकित्सकले पनि मृत्यु भइसकेको जानकारी गराएका पौड्यालले बताए । यस्तै, नार्पाभूमि–४, याकखर्कमा पर्यटकको भारी बोकेर फर्कने क्रममा शुक्रबार (कात्तिक ७) लेक लागेर नुवाकोटको किस्पाङ गाउँपालिका–११ का ४९ वर्षीय साम्बा घलेको घटनास्थलमा नै मृत्यु भएको थियो ।