संसद भवन जलिरहेको पृष्ठभूमिमा फेसबुक लाइभ गर्दै अभद्र र उत्तेजक शब्द प्रयोग गरेको भिडियो सार्वजनिक भएपछि अमनप्रताप अधिकारी विवादमा तानिएका छन् । भिडियोमा अधिकारीले संसद भवन जलिरहेको दृश्य देखाउँदै अशोभनीय भाषामा टिप्पणी गरेका छन् ।
भदौ २४ गते भएको अराजक आन्दोलनका क्रममा खिचिएको भनिएको त्यो भिडियोमा उनले बारम्बार ‘देखिस, जल्यो तेरो देश’ भन्ने वाक्य दोहोर्याएका छन् । भिडियोको क्याप्सनमा उनले लेखेका छन्, ‘दिस इज हाउ संसद भवन वाज टेकन डाउन ।’
यो भिडियो अधिकारीकै आधिकारिक फेसबुक वालबाट सार्वजनिक भएको हो र समाचार तयार पार्दासम्म उनको पेजमा छ । भिडियोमा प्रयोग गरिएका कतिपय शब्दहरू उद्धृत गर्न पनि अनुपयुक्त छन् । उनले नेताहरू र राजनीतिप्रति घोर असन्तुष्टि व्यक्त गर्दै अपशब्द प्रयोग गरेका छन् ।
को हुन अमनप्रताप अधिकारी
अमनप्रताप अधिकारी नेपालका पूर्व ए डिभिजन फुटबल खेलाडी हुन् । खेल जीवनपछि उनी कमेन्टेटर र टेलिभिजन प्रस्तोता बने । पछिल्ला वर्षमा उनले ‘हिमालयन रोडिज’ लगायतका रियालिटी शो सञ्चालन गरेका थिए ।
त्यसैगरी, उनी नेपालकै पहिलो साहित्यिक रियालिटी शो ‘द पोएट आइडल’ का परिकल्पनाकार तथा निर्देशक हुन् । अधिकारीका पिता दिवंगत क्षेत्रप्रताप अधिकारी पञ्चायतकालीन राष्ट्रिय पञ्चायतका सदस्य तथा पूर्व शिक्षा राज्यमन्त्री थिए । दुई छोरामध्ये अमन कान्छा हुन् ।
‘जेनजी आन्दोलन’का नाममा चलिरहेको विरोध प्रदर्शनलाई समर्थन गर्दै अधिकारीले यसअघि पनि सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै आएका थिए । तर, संसद भवनमा आगजनीका बेला गरिएको उनको भिडियो र भाषाशैलीले सार्वजनिक छवि र सांस्कृतिक भूमिकासँग असंगत प्रतिक्रिया सिर्जना गरेको छ ।