२०८३ जेठ २५ , सोमबार 9, June 2026, Tuesday

प्रकृति संरक्षणमा नौ हजार सेना, ११६ सैनिकले गुमाए ज्यान

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ कात्तिक ८ गते शनिबार

नेपाली सेनाले १२ राष्ट्रिय निकुञ्जसहित एक वन्यजन्तु अरक्षण र एक सिकार आरक्षमा जनशक्ति परिचालन गरेको छ । नेपाल सरकारद्वारा घोषित राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, सिकार आरक्ष र चुरे क्षेत्र संरक्षणमा सेनाका नौ हजार ४६ जना जनशक्ति खटिँदै आएको युद्धकार्य निर्देशक मनोज थापाले जानकारी दिए ।

सेनाका आठ गण, दुईवटा वन तथा पर्यावरण सुरक्षा गण र सात अनाश्रित गुल्मलाई संरक्षणको जिम्मेवारी तोकिएको छ । चालु आवमा विभिन्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षणबाट ४२ नाल विभिन्न हतियार, एक हजार ९७६ जाल पासो, एक हजार ९६५ घरेलु औजार ३३५ वटा सवारीसाधन र १६ वटा आखेटोपहार बरामद गरेको उनले जानकारी दिए ।

सेनाबाट भएको सुदृढ सुरक्षा तथा संरक्षण कार्यबाट पछिल्लो १५ वर्षयता बाघ तथा गैँडाको सङ्ख्यामा उल्लेख्य बढेका छन् । पछिल्लो गणना अनुसार नेपालमा बाघको सङ्ख्या ३५५ रहेको तथा गैँडाको संख्या ७५२ छ । यसअघि २००९ मा भएको जनगणनामा बाघको सङ्ख्या १२१ र २००५ को गणनामा गैँडाको सङ्ख्या ४०० थियो ।

ती उपलब्धि हासिल गर्ने क्रममा वन्यजन्तुको आक्रमण र अन्य कारणबाट ११६ सैनिकले आफ्नो जीवन गुमाएका छन् । चालु आवमा मात्रै त्यस्ता जङ्गली जनावरको आक्रमणमा परी पाँचजना सकलदर्जा घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाले नेपालका सुन्दर हिमालको सौन्दर्य कायम राख्न पछिल्लो दशकमा वार्षिक रुपमा हिमाल सफाइ अभियान पनि सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक ८ गते शनिबार