२०८३ असार १४ , आइतबार 29, June 2026, Monday

तीन महिनामा नेपालगन्ज नाकाबाट झण्डै साढे चार अर्ब राजस्व सङ्कलन

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ कात्तिक ८ गते शनिबार

पश्चिम नेपालको सबैभन्दा ठुलो नाकाको रुपमा रहेको नेपालगन्ज नाकाबाट चालू आर्थिक वर्ष २०८२–०८३ को सुरुको तीन महिनामा चार अर्ब ४७ करोडभन्दा बढि राजस्व सङ्कलन भएको छ । गत आर्थिक वर्ष २०८१–०८२ को सोही अवधीमा चार अर्ब ४० करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले चालु आवमा राजस्व सङ्कलनमा सात करोड रुपैयाँभन्दा बढि वृद्धि भएको बताए । उनले जेनजी ओन्दोलनका कारण केही दिन नाका बन्द र राजस्व सङ्कलन प्रभावित नभएको भए अझै राजस्व सङ्कलन बढि देखिने हुने बताए ।

सूचना अधिकारी खड्काका अनुसार चालु आवको सुरुका तीन महिनामध्ये साउनमा लक्ष्यको ७५ प्रतिशत, भदौमा ७० प्रतिशत र असोजमा ८८ प्रतिशत राजस्व सङ्कलन भएको छ भने गत आवको सोही अवधीको साउनमा ७३ प्रतिशत, भदौ र असोजमा ६६ प्रतिशत राजस्व सङ्कलन भएको थियो ।

नेपालगन्ज भन्सार कार्यालयका अनुसार यस वर्ष साउनमा एक अर्ब ३८ करोड ३७ लाख ८४ हजार, भदौमा एक अर्ब ३५ करोड १० लाख नौ हजार र असोजमा एक अर्ब ७४ करोड १६ लाख पाँच हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । राजस्व सङ्कलनमा सबैभन्दा बढि योगदान आयाततर्फ चामल, मकै, चिनी र फलामका विभिन्न बस्तुहरुको रहेको छ ।

यी वस्तुहरुको आयात चालु आवमा विगतभन्दा बढि र अत्यधिक मात्रामा भएको पाइएको छ । यसैगरी, निर्यातमा जडिबुटी र जडिबुटी जन्य विभिन्न वस्तुहरुको योगदान रहेको भन्सार कार्यालयका सूचना अधिकारी खड्काले बताए । गत केही वर्षदेखि लक्ष्य अनुसारको राजस्व सङ्कलन हुन नसक्नुमा अवैध आयात निर्यात, चोरी, तस्करी मुख्य कारण रहेको स्थानीय उद्योगी व्यवसायीहरुको भनाइ छ ।

नेपालगन्ज नाकाबाट आयात हुने वस्तुहरुमा डिजेल, पेट्रोल, एलपी ग्यास, कोइला, पोलिथिन दाना, तेल, मार्बल, मोटर गाडीका पार्टपूर्जा, कागज, मेसिनरी पाटर्स, चामल र मकै लगायतका खाद्यान्न, माछा, एमएस ब्लेट तथा विद्युतीय सामग्री प्रमुख रहेका छन् । सोही प्रकारले खोटो, रोजिन, जडीबुटी, मसला, पिना, अदुवा, सुठो र रद्दी कागज जस्ता सामान भारतलगायत तेस्रो मुलकमा निकासी हुने गरेको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक ८ गते शनिबार